एपबाटै स्थानीय तहको कर तिर्न मिल्ने


काठमाडौं । अब स्थानीय तहको एपबाटै कर तथा बिजुलीको बिल भुक्तानी गर्न सकिने भएको छ । देशभर रहेका ७५३ ओटै स्थानीय तहका लागि निर्माण गरिएको मोबाइल एपमार्फत यस किसिमको सुविधा दिन थालिएको हो ।

हाललाई २१ ओटा स्थानीय तहको कर प्रणाली एपमा आवद्ध भएको सूचना प्रविधि विभागले प्रेस विज्ञप्तीमार्फत जनाएको छ । बिबरणहरु हेर्न तथा भुक्तानी सेवा प्रयोगका लागि सेवाग्राही तथा करदाताहरुले सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको प्रयोगकर्ताको विवरण प्रयोग गर्नुपर्नेछ ।

स्थानीय तहसँग सम्बन्धित विभिन्न करहरूको भुक्तानीका साथै अन्य सेवाहरू समेत यसमा थप गर्दै सबै स्थानीय तहमा यसलाई विस्तार गरिने विभागले जनाएको छ ।

यो सेवा हाललाई काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, हेटौंडा उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका र धुलिखेल नगरपालिकामा उपलब्ध रहेका छन् ।

त्यस्तै कीर्तिपुर, गोदावरी, कावासोती, मध्यबिन्दु, गोकर्णेश्वर र तिलोत्तमा, नमोबुद्ध, बेलौरी, बर्दघाट, बनेपा, पुनर्वास, धनगढीमाई, थुलुङ र दुधकोसी नगरपालिकाको कर अनलाइनबाट भुक्तानी गर्ने र त्यसको विवरण हेर्ने सुविधा एपमा रहेको छ ।

प्रयोगकर्ताले एन्ड्रोइड र आईओएसमा गएर स्थानीय तहको एप डाउनलोड गर्न सक्नेछन् ।