भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने स्पष्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै दुई देशबिचको सीमांकनको कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए ।
प्रवक्ता जयसवालकाअनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनका विषयहरू सुल्झिन बाँकी रहेका हुन् । यसका साथै, सीमांकन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र दशगजा (नो म्यान्स ल्याण्ड) अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्शांकन भइरहेको उनले बताए ।
नेपाल र भारतबिचको सीमा मामिला पूर्णतः द्विपक्षिय विषया भएकाले कुनैपनि तेस्रो मुलुकको भुमिका नरहने स्पष्ट पारे । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै नेपाल र भारत सीमा समस्याबारे कुटनीतिक पहल भइरहेको र बेलायतलाई पनि यसबारे कुटनीतिक नोट पठाइएको जानकारी दिएका थिए ।
नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीहरूबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले भने, “नेपाल र भारतबीचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय हो । यस्ता मामिलामा कुनैपनि तेस्रो पक्षको भूमिका रहँदैन र यो कुरा सम्बन्धित सबै पक्षलाई स्पष्ट हुनुपर्छ ।”
सीमा सम्बन्धी सबै प्राविधिक र कुटनीतिक विषयहरूलाई सम्बोधन गर्नका लागि दुई देशबीच प्रभावकारी द्विपक्षीय संयन्त्रहरू क्रियाशील रहेको उनको भनाइ छ । दुई देशबिचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारतबिच जनस्तरका साथै राजनीतिक दलहरूबीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गरे ।
पछिल्लो समय नेपालबाट भइरहेका उच्चस्तरीय भ्रमणहरू र विभिन्न तहमा भइरहेका भेटवार्ताहरूले आपसी सम्पर्क र सम्बन्धलाई थप सुदृढ बनाइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्