काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रका लागि समेटिएका अधिकांश कार्यक्रम सकारात्मक रहेको बताउँदै तिनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन्।
काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य, सबै आयोजनाको पीपीए (पावर पर्चेज एग्रिमेन्ट) गर्ने तथा ‘वान डोर पोलिसी’ लागू गर्ने विषय बजेटमा समावेश हुनु स्वागतयोग्य रहेको बताए।
उनले विगतमा बजेटमा समेटिएका कतिपय कार्यक्रम कानुनी तथा नीतिगत व्यवस्था अभावका कारण कार्यान्वयन हुन नसकेको स्मरण गराउँदै यसपटक कानुन संशोधन र नीतिगत सुधारमार्फत ती कार्यक्रम कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।
कार्कीले ऊर्जा विकास र पूर्वाधार निर्माणलाई तीव्रता दिन ‘वान डोर पोलिसी’ प्रभावकारी रूपमा लागू गर्न आवश्यक रहेको उल्लेख गरे। हाल एउटा आयोजना अगाडि बढाउन विभिन्न मन्त्रालय र निकायमा धाउनुपर्ने अवस्थाले लगानीकर्तालाई समस्या परेको उनको भनाइ थियो।
उनले १० मेगावाटसम्मका आयोजनाको पीपीए खुला गर्ने निजी क्षेत्रको माग सरकारले सम्बोधन गरेको भन्दै अब ‘टेक अर पे’ मोडलमा पीपीए प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताए। कुनै पनि आयोजनाको पीपीए नगर्ने व्यवस्था कतै उल्लेख नभएकाले सरकारले प्रक्रिया अघि बढाउनुपर्ने उनको धारणा थियो।
अध्यक्ष कार्कीले बजेटमा समेटिएका सकारात्मक व्यवस्थालाई कार्यान्वयनमा लैजान निजी क्षेत्र, सरोकारवाला निकाय र सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको समेत बताए।



प्रतिक्रिया दिनुहोस्