टेस्लाले ‘गिगा फेस्ट’ आयोजना गर्ने


काठमाडौं । टेस्लाले जर्मनीको बर्लिनमा गिगाफ्याक्ट्री अनावरण गर्नका लागि आयोजना हुने ‘गिगा फेस्ट’ इभेन्टका लागि रजिस्ट्रेशन शुरु गरेको छ ।

अघिल्लो महिना कम्पनीका सीईओ एलन मस्कले टेस्लाले बर्लिनको फ्याक्ट्रीबाट मोडल वाई उत्पादन गर्ने योजना बनाएको बताएका थिए ।

तर सरकारी अनुमोदन बाँकी रहेको थियो । कम्पनीले सरकारी इजाजतका कारण उत्पादन शुरु गर्न पटक पटक मिति सारिरहेको छ । यो फ्याक्ट्रीबाट यूरोपमा उत्पादन क्षमता वृद्धि गर्न महत्वपूर्ण रहेको छ ।

अन्तिममा जर्मनी सरकारले टेस्लालाई अनुमोदन दिन तयार भएको जर्मनी सञ्चार माध्यमले जनाएका छन् । टेस्लाले अनुमोदन पाउने भएपछि ‘गिगा फेस्ट’ नामको उक्त इभेन्टको रजिस्ट्रेशन खोलेको बुझिएको छ ।

इभेन्ट सबैका लागि खुला हुने भए पनि टेस्लाले बर्लिन र ब्रान्डेन्बर्गका जिप कोड भएका व्यक्तिहरुलाई प्राथमिकता दिएको छ । टेस्लाले उक्त इभेन्टमा मोडल वाई को टेस्ट राइडको व्यवस्था गर्ने पनि जनाएको छ ।

मस्कले सन् २०१९ मै टेस्लाले जर्मनीको बर्लिन शहर नजिक नयाँ फ्याक्ट्री स्थापना गर्ने घोषणा गरेका थिए । यो घोषणाको झण्डै २ वर्षपछि कम्पनी बर्लिनमा गिगाफ्याक्ट्री अनावरण गर्न लागेको हो ।