काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावबाट विकास कुटनीतितर्फ लैजान चाहेको बताएका छन् ।
आइतबार नयाँदिल्लीस्थित नेपाली दुतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल–भारत सम्बन्धलाई पुराना भू–राजनीतिक दृष्टिकोणबाट नभई विकास, प्रविधि र आर्थिक रूपान्तरणमा केन्द्रित नयाँ साझेदारीका रूपमा अघि बढाउन चाहेको बताए ।
उनले नेपालमा नयाँ राजनीतिक शक्ति उदाएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार विगतका राजनीतिक बोझबाट मुक्त भएर परिणाममुखी कुटनीतिमा केन्द्रित रहेको उल्लेख गरे ।
उनले भारत भ्रमणको क्रममा व्यापार, ऊर्जा, पूर्वाधार, जलस्रोत र जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा भारतसँग छलफल भएको जानकारी दिए ।
मन्त्री खनालका अनुसार भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भएको द्विपक्षीय वार्तामा सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी तथा आर्थिक सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।
भ्रमणका क्रममा नेपाल र भारतबिच सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको उनले जानकारी दिए । नेपाल–भारतबिच व्यक्ति–व्यक्ति (पिटुपी) सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा आएकोले यसले दुवै देशका नागरिक, पर्यटक र साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ ।
त्यस्तै, भारतीय सहयोगमा निर्माण गरिएका ७२ स्वास्थ्य र १२ सांस्कृतिक क्षेत्रका भूकम्पपछिका पुनर्निर्माण परियोजना औपचारिक रूपमा हस्तान्तरण भएको तथा काठमाडौँ विश्वविद्यालय र भारतको भाषिणी डिभिजनबिच भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समझदारी भएको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा लागू गरिएको भन्सार नियमबारे सोधिएको प्रश्नमा मन्त्री खनालले भारतबाट ल्याउन पाइने सामानको सीमासम्बन्धी व्यवस्था सीमावर्ती नागरिकलाई लक्षित नभई खुला सीमाको दुरुपयोग रोक्नका लागि ल्याइएको स्पष्ट पारे ।
मन्त्री खनालले भारतीय नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिँदै पशुपतिनाथ, जनकपुर, लुम्बिनी र मुक्तिनाथजस्ता धार्मिक तथा सांस्कृतिक गन्तव्यको अनुभव लिन आग्रह गरे । भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भारत भ्रमण गएका थिए ।



प्रतिक्रिया दिनुहोस्