विधान इप्पान सचिवालयमा सुरक्षित छः अध्यक्ष कार्की


काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) इप्पानको २४ औ बार्षिक साधारणसभा एवं आठौ अधिवेशन २०८३ साल जेष्ठ २९ गते हुने भएकाे छ ।

कार्य समितिको निर्णय बमोजिम र वैधानिक रुपमा आगामी २०८३ साल जेष्ठ २९ गते साधारणसभा एवं आठौ अधिवेशन आयोजना गर्न लागिएको तथा यसका लागि औपचारिक रुपमा २०८३ साल जेष्ठ ९ र १० गते सार्वजनिक रुपमा सूचना समेत प्रकाशित गरिसकिएको जनाएकाे छ ।

इप्पानले अर्नगल प्रचारप्रति भ्रममा नरहन र साधारणसभा एवं अधिवेशनलाई भव्य रुपमा सफल पार्न सक्रिय रुपमा सहभागी हुन अनुराेध गरेकाे छ ।

२०८० साल जेष्ठ ३२ गते सम्पन्न इप्पानको २१ औ बार्षिक साधारणसभाले श्री भानुभक्त पोखरेल संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुर्नलेखन समिति गठन भएको र सो समितिले २०८२ साल जेष्ठ २९ गते विधानको पुर्नलेखन सम्बन्धमा संस्थालाई महासंघको रुपमा रुपान्तरण गर्ने मस्यौदासहितको सुझाव पेश भएको थियो ।

उक्त समितिको प्रतिवेदनमाथि छलफल २०८२ साल असार ३१ गते सम्पन्न इप्पानको २३ औ बार्षिक साधारणसभाले सो को कार्यान्वयन गर्न संस्थाका अध्यक्षलाई अख्तियारी दिएको थियो । अध्यक्षले उक्त महासंघ बनाउन नसक्ने गरी २०८३ साल बैशाख ४ गते सम्पन्न २०० औ कार्य समितिको बैठकले इप्पानको विधान २०७८ अनुसार २४ औ बार्षिक साधारणसभा एवं आठौ अधिवेशन गर्ने निर्णय गरेको थियाे ।

२०८३ साल जेष्ठ २५ गते सम्पन्न २०३ औ बैठकले इप्पान विधान २०७८ लाई संशोधन गरी आगामी २०८३ साल जेष्ठ २९ गते हुने २४ औ बार्षिक साधारणसभाका लागि बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने र विधान संशोधन भए पश्चात एक कार्यकाल कार्य समितिमा रहेका विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्ष उम्मेदवार हुन पाउने तथा अन्य सबै पदमा खुल्ला रुपमा उम्मेदवारी दिने गरी प्रस्ताव लैजान लागेको छ ।

“२०८३ साल बैशाख ४ गते सम्पन्न बैठकले सर्वसम्मतबाट आगामी २४ औ साधारणसभा एवं आठौ अधिवेशन गर्ने निर्णय कार्य समितिले गरेको तथा समितिले विधान मस्यौदाबारे सबै व्यक्तिहरु (छलफलको क्रममा औपचारिक रुपमा १५ जना) ले दिएको सुझावसहितको पोखरेल संयोजकत्वको विधान संशोधन तथा पुर्नलेखन मस्यौदा समितिको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित रहेको अवस्थामा इप्पानकै उपमहासचिव रहनु भएका प्रकाशचन्द्र दुलालले सार्वजनिक रुपमा विधान गायब भएको, विधान विपरित साधारणसभा आयोजना गर्न लागिएको जस्ता अर्नगल र कपोलकल्पित प्रचार गरेकोले यस संस्थाप्रति उक्त कार्यले नकारात्मक सन्देश जाने भएकोले सो को घोर भत्र्सना गर्दछौ,” इप्पानका अध्यक्ष गणेश कार्कीले जारी गरिएकाे विज्ञप्तीमा भनिएकाे छ ।

सम्पूर्ण ऊर्जा व्यवसायीहरुको साझा संस्था इप्पान विधानको परिपालनामा गम्भीर भएकोले यस्ता आरोपहरूको खण्डन गरेकाे छ । इप्पानमा हाल ७०० भन्दा बढी कम्पनी सदस्य छन् ।