उत्तम भ्लोन लामाको टिमलाई भोट हाल्ने डाँगीको घोषणा 


काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले आगामी नेतृत्वले ऊर्जा क्षेत्रका नीतिगत सुधार र कानुनी व्यवस्थालाई कार्यान्वयनमा लैजान केन्द्रित हुनुपर्ने बताएका छन् । 

काठमाडाैँमा आयोजित एक कार्यक्रममा डाँगीले ऊर्जा क्षेत्रका अझै धेरै नीतिगत सुधार जरुरी रहेकाले आगामी दिनमा त्यसतर्फ केन्द्रित हुने बताए । इप्पानमा अहिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । सोहीअनुसार डाँगी अध्यक्ष केही दिनमै बन्दैछन् ।

वरिष्ठ उपाध्यक्ष डाँगीले आफूले वरिष्ठ उपाध्यक्षसहित हुन लागेको इप्पानको निर्वाचनमा उत्तम भ्लोन लामाको नेतृत्वमा रहेको टोलीलाई समर्थन गर्ने घोषणा गरे ।

उनले आफ्नो मत उक्त टोलीलाई दिने स्पष्ट पार्दै यो टिमलाई सघाउन सबैलाई आग्रह समेत गरे ।

ऊर्जा क्षेत्रलाई मर्यादित, व्यवस्थित र परिणाममुखी बनाउन सक्षम नेतृत्वको आवश्यकता रहेको बताउदै उनले  हाल ऊर्जा क्षेत्र  चुनौतीपूर्ण अवस्थामा रहेको बताए । यस्तो समयमा अनुभवी र सक्षम टोलीको नेतृत्व आवश्यक छ । अहिलेको चुनावी दौरान हेर्दा लामाको टिमले ऊर्जा क्षेत्रका मुद्दालाई प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने उनको विश्वास छ ।

उनले भने, “आजसम्म हामी सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमै लागिरहेका थियौँ तर आज मैले पनि आफ्नो मत कहाँ हाल्ने भन्ने कुरा स्पष्ट गर्नुपर्छ भन्ने महसुस गरेको छु । मसँग पनि मताधिकार छ, र मैले आफ्नो मत कसलाई दिने भन्ने विषयमा खुला रूपमा धारणा राख्न चाहन्छु । म धेरै भोट माग्न चाहन्नँ, तर मेरो मत भने उत्तम ब्लोन लामाको नेतृत्वमा रहेको टोलीलाई जानेछ ।”

डाँगीले संस्थाभित्र आचारसंहिता, व्यावसायिक मर्यादा र संस्थागत संस्कृतिलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । ऊर्जा क्षेत्रका सरोकारवालाले आत्मसमीक्षा गर्दै संस्थागत सुधारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।