काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले यार्सागुम्बाको उत्पादनमा आएको तिब्र गिरावटले हिमाली क्षेत्रको अर्थतन्त्र गम्भीर संकटमा परेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले यार्सागुम्वा उत्पादनमा ६० प्रतिशत गिरावट आएको बताएका हुन् । उनले सरकारले तत्काल संरक्षण, राहत र दीर्घकालीन व्यवस्थापन ध्यान दिन माग गरे । डोल्पासहित १२ हिमाली जिल्लाका हजारौं परिवारको वार्षिक आम्दानी यार्सागुम्बामा निर्भर रहेको उनको भनाइ छ ।
जलवायु परिवर्तन, अव्यवस्थित संकलनलगायतका कारणले यार्सागुम्बाको उत्पादनमा निन्तर गिरावट आएको उनले जानकारी दिए । उनले यार्सागुम्बाको उत्पादन घट्नु एउटा जडीबुटीको मात्र समस्या नभई सम्पूर्ण हिमाली अर्थतन्त्रमा असर पर्ने विषय भएको बताए ।
उत्पादन घटेसँगै स्थानीय बजार सुनसान बनेको, हजारौं परिवारको आम्दानी गुमेको र धेरै घरपरिवारमा खाद्य संकटको चिन्ता बढेको उनले उल्लेख गरे । सांसद बुढाले वर्षौंदेखि यार्सागुम्बाबाट राज्यले करोडौं रुपैयाँ राजश्व संकलन गरे पनि संकटमा परेका संकलक र हिमाली समुदायका पक्षमा प्रभावकारी पहल नदेखिएको आरोप लगाए ।
उनले सरकारसमक्ष तीनबुँदे माग प्रस्तुत गर्दै यार्सागुम्बा संरक्षण, संकलकको सुरक्षा तथा उद्धार बीमा, ब्रान्डिङ र दिगो बजार व्यवस्थापनका लागि वैज्ञानिक तथा दीर्घकालीन नीति तत्काल ल्याउन आग्रह गरे ।
उनले प्रभावित परिवारको अवस्था मूल्याङ्कन गरी आवश्यक राहत उपलब्ध गराउन र डोल्पामै यार्सागुम्बासहित अन्य जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी दिगो पर्यटन तथा स्थानीय रोजगारीसँग जोडिएको विशेष जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न माग गरे । सांसद बुढाले हिमाली जनताको आवाजप्रति संवेदनशील बन्न सरकारसंग आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्