सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल


काठमाडाैँ । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले उक्त कुरा बताएका हुन् । सांसद बरालले वैज्ञानिकहरुको पारिश्रमिक उचित नभएकाकारण नै नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा समेत दरबन्दी भएर पनि जनशक्ति नभएको दुखद अवस्था रहेकोतर्फ पनि ध्यानाकर्षण गराए ।

नार्कमा वरिष्ठ वैज्ञानिकहरुलाई उचित पारिश्रमिकको व्यवस्था गर्न नसक्दा निमित्त कर्मचारीको भरमा काम गर्नुपर्ने जटिल अवस्था आएको सांसद बरालको भनाइ थियो ।

उनले भने, “आज मैले नार्कका साईनटिस्टहरुको अवस्थालाई देखेको छु । मैले सिनियर साइनटिस्टहरुको धेरै ठूलो ग्याप छ । दरबन्दी छ, तर साईनसिष्ट छैनन् । यसको अर्थ के भन्दा साईनटिष्टहरु अहिलेको नेपालको चालु जुन तलव स्केल छ । यसमा त्यो लेवलको जनशक्ति रमेर बस्दैन । अनि हामीले काम चलाउनुपर्ने तल्लो स्तरको कर्मचारीहरुलाई निमित्तमार्फत अथवा अरु ढंगले काम चलाउ गर्नुपर्ने बाध्यकारी अवस्था छ । यसले क्वालिटी डेलिभर गर्न सक्दैन । त्यसो भएको हुनाले हामीले साइनटिष्टहरुको उपयुक्त प्रोजेक्शनको बारेमा ध्यान दिनुपर्दछ ।”

सांसद बरालले वैज्ञानिक खोज, अनुसन्धानका लागि आवश्यक जनशक्तिको व्यवस्थाका लागि विशेष खालको छात्रवृत्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।