हर्मूज जलसन्धिको वर्तमान अवस्थाः ठुला जहाजको संख्यामा कमी र इरान–अमेरिकाबिच विरोधाभासपूर्ण दाबी


विश्वकै प्रमुख व्यापारिक जलमार्गहरूमध्येको एक, हर्मूज जलसन्धिको पछिल्लो अवस्थामा परिवर्तन देखिएको छ । ओमानको खसाब क्षेत्रबाट प्राप्त रिपोर्टिङकाअनुसार एक महिना अघिको तुलनामा हाल यस क्षेत्रमा ठूला मालवाहक जहाजहरूको संख्यामा उल्लेख्य कमी आएको छ ।

अघिल्लो महिना क्षेत्रीय तनावका कारण यस क्षेत्रमा धेरै संख्यामा ठूला र साना जहाजहरू रोकिएका थिए । तर हाल अधिकांश ठूला जहाजहरू त्यहाँबाट प्रस्थान गरिसकेका छन् र अहिले मुख्यतया साना डुङ्गाहरू मात्र देखिएका छन् ।

यसैबिच, इरानले शनिबार हर्मूज जलसन्धि बन्द गर्ने औपचारिक घोषणा गरेको छ । अमेरिकाले शान्ति सम्झौता उल्लंघन गरेको र इजरायलले दक्षिण लेबनानमा युद्धविरामको सर्तहरू मिचेको आरोप लगाउँदै इरानले उक्त जलमार्ग बन्द गर्ने निर्णय लिएको हो । तर अमेरिकी सेन्ट्रल कमाण्डले भने इरानको दाबीलाई अस्वीकार गर्दै हर्मूज जलसन्धि अझै खुला रहेको जनाएको छ ।

अमेरिकाकाअनुसार उक्त जलमार्ग भएर व्यावसायिक जहाजहरूको आवतजावतमा झन् वृद्धि भइरहेको छ । यसरी सामरिक र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिने हर्मूज जलसन्धिको सञ्चालनलाई लिएर इरान र अमेरिकाबीच विरोधाभासपूर्ण दाबीहरू सार्वजनिक भइरहेका छन् ।