अमेजनका एआई प्रमुख भन्छन्, “पाँच-सात वर्षभित्र व्यावसायिक क्वान्टम कम्प्युटर उपलब्ध हुन्छ”


अमेजनका कृत्रिम बुद्धिमत्ता (एआई) प्रमुख पिटर डिसान्टिसले अबकाे पाँच देखि सात वर्षभित्र पहिलो ‘व्यावसायिक रूपमा उपयोगी’ क्वान्टम कम्प्युटर उपलब्ध हुने बताएका छन् । उनले सीएनबीसीसँगको अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।

डिसान्टिस हाल अमेजनको एआई मोडेल, कम्प्युटर चिप्स र क्वान्टम प्रविधिमा केन्द्रित नयाँ विभागको प्रमुख हुन् । उनले यो प्रविधि सेमिकन्डक्टर (अर्धचालक) क्षेत्रको विकासजस्तै क्रमश अगाडि बढ्ने बताए ।

“आगामी पाँच-सात वर्षभित्र सानो स्तरका व्यावसायिक क्वान्टम कम्प्युटरहरू देखिन थाल्नेछन्,” डिसान्टिसले भने, “त्यसपछि ती कम्प्युटरहरू प्रत्येक वर्ष ठूला हुँदै जानेछन् र झन् जटिल समस्याहरू समाधान गर्न सक्षम हुनेछन् । यो मूरको नियमजस्तै हुन्छ ।”

कम्प्युटर चिपमा रहने ट्रान्जिस्टरको संख्या हरेक दुई वर्षमा दोब्बर हुन्छ भन्ने मान्यता मूरको नियम हो । जसले समयसँगै शक्तिशाली सेमिकन्डक्टर उत्पादन गर्छ । डिसान्टिसको यो भनाइ अमेजनले उपयोगी क्वान्टम कम्प्युटिङका बारेमा दिएको पहिलो समयसीमा हो ।

क्वान्टम प्रविधिका समर्थकहरू यसले हालका कम्प्युटरले नसक्ने समस्याहरू समाधान गर्ने दाबी गर्दछन् ।

सामान्य कम्प्युटिङमा सूचना ‘बिट’मा भण्डारण हुन्छ, जुन ० वा १ मध्ये कुनै एक हुन्छ । तर क्वान्टम कम्प्युटिङले ‘क्युबिट’ प्रयोग गर्छ, जुन एकै समयमा ०, १ वा दुवैको मिश्रण हुन सक्छ ।

“एउटा गलत बुझाइ के छ भने क्वान्टम कम्प्युटर छिटो हुन्छ । त्यो होइन । क्वान्टम कम्प्युटरले विशेष प्रकारका समस्याहरू समाधान गर्छ, जुन आजका कम्प्युटरले राम्रोसँग गर्न सक्दैनन्,” डिसान्टिसले स्पष्ट पारे ।

क्वान्टम कम्प्युटिङको क्षेत्रमा अहिले माइक्रोसफ्ट, गुगल, आईबीएमलगायतका प्रविधि कम्पनीहरू तथा धेरै स्टार्टअपहरू प्रतिस्पर्धामा छन् ।

गत वर्ष अमेजनले ‘ओसेलोट’ नामक आफ्नो क्वान्टम चिप सार्वजनिक गर्यो, जुन त्रुटि सुधारको समस्यालाई समाधान गर्न डिजाइन गरिएको हो । क्वान्टम कम्प्युटिङमा त्रुटि सुधार एउटा मुख्य चुनौती हो ।

डिसान्टिसको समयसीमा अन्य कम्पनीका भन्दा बिचमा रहेको देखिन्छ । गत वर्ष गुगलका एक अधिकारीले पाँच वर्षभित्र क्वान्टम कम्प्युटर व्यावहारिक प्रयोगमा आउने बताएका थिए भने माइक्रोसफ्टले सन् २०२९ सम्ममा व्यावसायिक क्वान्टम मेसिन बनाउने दाबी गरेको छ ।

अर्कोतर्फ, एनभिडियाका प्रमुख जेन्सेन हुआङले गत वर्ष १५ वर्ष लाग्ने बताएका भएपनि पछि उनले त्याे भनाइ सच्चाएका थिए ।