नेप्से परिसूचक १३ अंकले बढ्दा कारोबार रकम ७ अर्ब माथि


काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्से उकालो लागेको छ । मंगलबार आज नेपाल स्टक एक्सचेन्जका अनुसार (नेप्से) परिसूचक १३ अंकले बढेको छ ।

आज बजार खुलेको ३० मिनेटमै ८० अंकले घटेको नेप्से परिसूचक पुनः बाह्र नबज्दै ६८ अंकले बढेको थियो । प्रि ओपन सेसनमा भारी अंकले घटेको बजार कारोबार अवधीभर उतारचढाव आइरह्यो ।

आज नेप्से परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ अंकमा पुगेको छ । नेप्से ०.५१ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक २.३६ अंकले बढेर ५०८.६२ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको सेयर घटेको छ ।
नेप्सेमा आज कारोबार रकमको आधारमा अरूण भ्याली हाइड्रोपावर कम्पनी सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड ४४ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर धनीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यता एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य भने सबैभन्दा धेरै घटेको छ ।

कूल २२३ वटा कम्पनीको एक करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरण घटिरहेको बजारमा बैंकहरू निक्षेपको ब्याजदर बढाएपछि सेयर बजार अझै घटिरहेको छ ।