धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई कारबाहीको सिफारिस,नेप्सेका निवर्तमान सीईओ साउदलाई जोगाइयो


काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयरमा भित्री कारोबार प्रकरणमा नेपाल स्टक एक्सचेन्ज(नेप्से)का निवर्तमान सीईओ चन्द्रसिंह साउदलाई जोगाउँदै छानविन समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारबाहीको सिफारिस गरेको छ ।

उच्च अदालतका पूर्व न्यायाधीस अनन्तराज डुम्रे संयोजकत्वको छानविन समितिले ढुंगानालाई कारबाहीको सिफारिस गरेपनि साउदलाई भने जोगाएको स्रोतले जनाएको छ ।

छानविन समितिले आज अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनमा ढुंगानालाई कारबाहीको सिफारिस गरिएको छ । छानविन समितिका एक सदस्यका अनुसार नेप्से पदाधिकारीमाथि छानबिनको कार्यादेश नै नभएको बताए ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पु¥याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम काबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्री परिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।

जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताएका छन् । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरुको हित रक्षामा सहयोगी हुने धारणा राखे ।

सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले सेयर बजार घटबढ नहुने कुरा नभएको उनले बताए । भित्री कारोबारमा संलग्न देखिएका साउदलाई भने जोगाइएको छ ।

Skip This