काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा असार ३२ गते निर्वाचन हुँदैछ ।
स्वायत्त र नियामक संस्थामा अध्यक्ष र उपाध्यक्षका लागि विभिन्न पार्षद चुनावी मैदानमा उत्रदैछन् । प्रचलनअनुसार वर्तमान उपाध्यक्ष आनन्दराज वाग्ले अध्यक्ष बन्ने छन् । उपाध्यक्षका लागि भने चुनाव हुने छ ।
१७ जना पार्षदभित्र चुनाव हुने भएकाले उम्मेदवारको टुङ्गो भने अन्तिममा लगाउने तयारी छ । यद्यपी अहिलेसम्म तीनजना उपाध्यक्षको आकाङ्क्षी छन् । अहिले अमन उप्रेती,उमेशराज पाण्डे र हेम काफ्ले उपाध्यक्षको उम्मेदवारका लागि खुलेर आएका छन् ।
स्वायत्त निकायमा दलका उम्मेदवार
आइक्यान नियामक र स्वायत्त संस्था हो तर यो मात्रै अनौठो संस्था हो जहाँ दलका नेता कार्यकर्ता खुलमखुल्ला उम्मेदवार बन्छन् ।
आइक्यानमा सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर तीन जना सहसचिव स्तरका प्रतिनिधिलाई पार्षदको रूपमा पठाउने गर्दछ ।
सरकारी कर्मचारीले समेत खुलमखुल्ला दल निकटका मान्छेलाई भोट हाल्नुपर्ने बाध्यता छ । आइक्यानका पूर्वअध्यक्षले भने,“यसले कतै न कतै असहज अवस्था बनाएको छ । यसमा पार्षदहरूनै स्वयं जिम्मेवार बन्नुपर्छ ।”
वित्तीय क्षेत्रको महत्वपूर्ण हिस्सेदार आइक्यान कब्जाका लागि मुख्य दलहरुबिच विगतमा प्रतिस्प्रधा हुने गरेको थियो । खासगरी नेकपा एमाले र नेपाली कांग्रेससहितका दलले आफ्नो गठबन्धन बनाएर चुनाव लड्ने गरेका थिए ।
पार्षदको कार्यकाल पुरा गरिसकेका एक सरकारी कर्मचारीले भने,“ हामीले त व्यवसायिक हिसाबले बुझ्ने हो तर आइक्यानमा शुद्धीकरणको आवश्यकता देखिएको छ । हामी सरकारी प्रतिनिधिले समेत गएर दलका नेताकार्यकर्ताका रूपमा चिनिएका व्यक्तिलाई भोट हाल्नुपर्ने अवस्था छ ।”
वर्तमान अध्यक्ष नीलबहादुर सारु नेकपा एमालेको केन्द्रीय लेखा परीक्षण विभागको सदस्य हुन् । पार्टी वेबसाइटमै उनको खुलमखुल्ला नाम राखिएको छ । वर्तमान अध्यक्ष वाग्ले नेपाली कांग्रेस निकट मानिन्छन् ।
उनले खुलेरै भनेका छन्,“पेशागत व्यक्तिहरू मौन बस्नुपर्छ वा राजनीतिबाट टाढा रहनुपर्छ भन्ने भ्रम देखिन्छ । म यससँग असहमत छु । मौनता तटस्थता होइन, धेरैजसो अवस्थामा यसले जडता र स्थिरतालाई निरन्तरता दिन्छ ।”
यसपटकको चुनावमा कांग्रेस र एमाले निकटका व्यक्ति उम्मेदवार छन् ।
यसका लागि नेकपा एमाले निकट उमेशराज पाण्डे र नेपाली कांग्रेस निकट अमन उप्रेती चुनावी मैदानमा छन् ।
सहकार्य गर्ने अवस्थामा कांग्रेस निकट वाग्ले अध्यक्ष भएको अवस्थामा आगामी अध्यक्ष सुनिश्चित हुने गरी अहिले नेकपा एमालेका उमेशराज पाण्डेलाई उपाध्यक्ष बनाउने प्रयास भएको छ ।
तर,उप्रेतीले आफ्नो दाबी नछोड्ने देखिएपछि आपसी अविश्वाससमेत देखिएको स्रोतहरूको दाबी छ । आन्तरिक श्रोतका अनुसार पाण्डे जसरी पनि उपाध्यक्ष बन्न चाहन्छन् । उप्रेतीले पनि आफ्नो लबिङ तीब्र पारेका छन् । पछिल्लो समय अवार्ड विवादसमेत पाण्डेको समूहले प्रचारमा ल्याएको उप्रेती समूहको बुझाई छ ।
आइक्यानको परिषद्को कार्यकाल तीन वर्षको हुने भए पनि अध्यक्ष र उपाध्यक्ष भने एकएक वर्षमा चयन हुन्छन् ।
अब नयाँ नेतृत्वमा वाग्ले कांगेस निकटका हुनेछन् भने उपाध्यक्ष पाण्डे आए एमाले निकटका र उप्रेती आए कांग्रेस निकटका हुनेछन् । निवर्तमान अध्यक्षको हैसियतमा नेकपा एमालेका सारु रहने छन् ।
सरकारले अहिलेसम्म आफ्नो प्रतिनिधि पठाएको छैन । महालेखाले सिफारिस गरे पनि अर्थ मन्त्रालय मार्फत् जाने प्रतिनिधि मन्त्रिपरिषद् निर्णय गर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्