वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार दबाबमा,पार्टी मौन


काठमाडौँ । गत बिहीबार गणेश नेपालीले काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र शाह नेतृत्वको सरकार दाबाबमा परे पनि पार्टीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

सामाजिक सञ्जाल र संसदबाट समेत रास्वपाकै सांसदले सरकारको आलोचना सुरु गरेका छन् । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधनसँगै सरकारको विरुद्धमा आवाज उठिरहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय कुनै धारणा समेत सार्वजनिक गरेका छैनन् । शनिबार विदा मनाएको भन्दै स्टाटस लेख्ने उनी यो घटनापछि मौन छन् ।

सरकार बनेको तीन महिनाभित्रै सुकुम्बासी वस्तीमा डोजर लगाएर पनि उनीहरूको व्यवस्थापन गर्न नसकेको , मन्त्री र मन्त्रालयमा प्रधानमन्त्रीको सचिवालय हाबी भएको, नियुक्तिमा समेत आफन्तहरू समावेश गर्न थालिएको विषयमा अलोचना सुरु भएको छ ।

४ दिनअघि पार्किङकाे चिट काट्ने विषयमा गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । उपचारकै क्रममा शुक्रबार उनको निधन भएको थियो । निधनपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ भने सडकमा समेत प्रर्दशन भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले समाजिक सञ्जाल र संसदमा समेत सरकारको प्रश्न उठाइरहेका छन् ।

सरकार बनेको ३ महिना पुरा भइसकेपछि पनि प्रधानमन्त्री शाहले अहिलेसम्म देशवासीका नाममा सम्बोधन गरेका छैनन् भने संसदमा समेत आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

पछिल्ला घटनाक्रमबारे संसदीय दलको बैठक बोलाएर छलफल गर्नुपर्ने र पार्टीले समेत आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग उठिरहेको छ । सरकार एकपछि अर्को आलोचना र विरोधकाबिच दबाबमा पर्न थाले पनि सभापति लामिछाने भने मौन छन् ।