११औं आइसिटी अवार्डको अनलाइन नोमिनेसन खुला, १६ विधामा आवेदन दिन सकिने


काठमाडौँ। आइसिटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) साउन १ गतेदेखि खुला भएकाे छ। १६ वटा अवार्ड विधामा खुला गरिएको नोमिनेसनमा प्रदेशस्तरदेखि दक्षिण एसियाली देशहरूलाई समेट्ने केही अन्तर्राष्ट्रिय अवार्डहरू पनि समावेश गरिएका छन्।

लिभिङ विथ आइसिटीको आयोजनामा सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डको नोमिनेसन हरेक वर्ष साउन १ गतेदेखि खुला गरिन्छ। पुसको पहिलो साता आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट २ हजारभन्दा बढीको प्रत्यक्ष सहभागिता रहने गर्दछ। आइसिटी अवार्ड सम्भवतः नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रविधि अवार्डका रूपमा परिचित छ।

प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन तथा प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरूका डिजिटल रूपान्तरणका प्रयासहरूलाई यस अवार्डका विभिन्न विधाहरूले समेट्दै आएका छन्। यसैगरी, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमार्फत राष्ट्रलाई पुर्‍याएको योगदानका आधारमा व्यक्तित्वहरूलाई पनि यस अवार्डले सम्मान गर्दै आएको छ।

विगत तीन वर्षदेखि दक्षिण एसियाली देशहरूलाई लक्षित गर्दै ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड’ सञ्चालन हुँदै आएको छ भने यसै वर्षदेखि ‘एआई इन्नोभेसन साउथ एसिया आइसिटी अवार्ड’ पनि सुरु गरिएको छ। अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित वर्ल्ड समिट अवार्ड र एपीक्टा अवार्डसँग पनि आइसिटी अवार्डको सहकार्य रहँदै आएको छ।

अनलाइन नोमिनेसनसँगै करिब ६ महिनाको विशेष तयारीपछि आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रमअघि सबै विधामा २५ भन्दा बढी छनोट चरण, टेलिभिजन शो, स्टार्टअप फेस्टलगायत दर्जनौँ प्रि–इभेन्टहरू आयोजना हुनेछन्। १६ वटै अवार्ड विधामा उत्कृष्ट छनोटका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २० जना विज्ञ जुरी सदस्य रहनेछन् भने सरकारी तथा निजी क्षेत्रका १५ भन्दा बढी विशिष्ट व्यक्तिहरूको सल्लाहकार समिति गठन गरिनेछ।

अवार्डका विधामध्ये क्याटेगोरी ‘ए’ अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड तथा सोसल इन्नोभेसन आइसिटी अवार्ड रहेका छन्। यी विधाहरूमा प्रतिस्पर्धीहरूले स्वयं आवेदन दर्ता गर्नुपर्नेछ।

क्याटेगोरी ‘बी’ अन्तर्गत प्रविधिमार्फत समाज र राष्ट्रका लागि पुर्‍याएको योगदानका आधारमा अवार्डका लागि छनोट गरिनेछ। यसअन्तर्गत पायोनियर आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड (वुमन), आन्टरप्रेनर्स आइसिटी अवार्ड तथा नेपाली डायस्पोरा आइसिटी अवार्ड रहेका छन्। यी विधाहरूमा स्वयं व्यक्ति वा अन्य कसैले पनि व्यक्तिगत विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सक्नेछन्।

यसैगरी, क्याटेगोरी ‘सी’ अन्तर्गत सरकारी तथा निजी संस्थाहरूको डिजिटल रूपान्तरण, नवीनतम प्रविधिको प्रयोग तथा त्यसका लागि गरिएका प्रयासका आधारमा नोमिनेसन लिइनेछ। यसअन्तर्गत डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इन्टरप्राइज सेक्टर) तथा डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इमर्जिङ सेक्टर) रहेका छन्।

यस्तै, क्याटेगोरी ‘डी’ अन्तर्गत रहेको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड र एआई इन्नोभेसन साउथ एसिया आइसिटी अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, नेपाल तथा अफगानिस्तानका स्टार्टअप तथा एआई कम्पनीहरूले आवेदन दिन सक्नेछन्।

यी सम्पूर्ण अवार्ड विधाहरूमा अनलाइन आवेदन खुला गरिएको छ। अवार्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । वेबसाइट, अनलाइन नोमिनेसन, जुरी छनौट प्रक्रियाको डिजिटल प्रणाली सिस्टम पनि आयोजकले सार्बजनिक गरेको छ । पहिलो चरणअन्तर्गत नोमिनेसन अवधि भदौ १५ गतेसम्म खुला रहनेछ।

आइसिटी अवार्ड २०२६ मा आवेदन दिने विधा र प्रक्रियाहरु

आइसिटी अवार्ड २०२६ मा १६ विधामा अनलाइन नोमिनेशन खुल्ला भएसँगै नि:शुल्क आवेदन दिन सकिनेछ । यी हुन् आइसिटी अन्तर्गत विभिन्न ४ फरक क्षेत्रका १६ अवार्ड विधाहरु ।

  • स्टार्टअप तथा इन्नोभेसन सम्वन्धि विधाहरु:

१. स्टार्टअप आइसिटी अवार्ड २०२६

स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सेवा तथा नवप्रवर्तनको क्षेत्रमा कार्यरत स्टार्टअप कम्पनीहरूबीचको प्रतिस्पर्धात्मक अवार्ड हो । नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने यस अवार्डमा कम्पनी दर्ता भएको मितिदेखि ५ वर्षभित्र रहेका प्रविधिमा केन्द्रित स्टार्टअप कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन् ।

२. प्रडक्ट आइसिटी अवार्ड २०२६

प्रडक्ट आइसिटी अवार्ड गत २ वर्षभित्र सार्वजनिक भएका प्रविधिमा आधारित सफ्टवेयर, हार्डवेयर, एप्लिकेसन तथा अन्य डिजिटल उत्पादनहरूको प्रतिस्पर्धात्मक अवार्ड हो। यस अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिद्वारा विकास गरिएको आईटी, नवप्रवर्तन (Innovative) तथा एआई (AI) आधारित प्रडक्टलाई नोमिनेशनका लागि दर्ता गर्न सकिनेछ।

३. राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६

राइजिङ स्टार इनोभेसन ICT अवार्ड विद्यालय, कलेज तथा विश्वविद्यालयमा अध्ययनरत २७ वर्ष मुनिका विद्यार्थी तथा युवाहरूले विकास गरेका टेक प्रडक्ट, उद्योगमुखी (Industry) प्रोजेक्ट, अनुसन्धान (Research), एआई (AI) इनोभेसन तथा प्रोटोटाइपसहितका आइडियाहरूबीचको प्रतिस्पर्धात्मक अवार्ड हो। यस अवार्डमा कम्पनी दर्ता भएको हुनु आवश्यक छैन। सहभागीहरूले व्यक्तिगत रूपमा वा बढीमा ४ सदस्यीय समूहका रूपमा आफ्नो इनोभेसनको प्रतिनिधित्व गर्दै नोमिनेशन दर्ता गर्न सक्नेछन्।

४. सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२६

सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगमार्फत सामाजिक वा वातावरणीय चुनौतीहरूको समाधान गर्ने उत्कृष्ट नवप्रवर्तनलाई सम्मान गर्ने विधा हो -सोसियल इन्नोभेसन आइसिटी अवार्ड । यस अन्तर्गत प्रविधिलाई मुख्य आधारका रूपमा प्रयोग गरी विकास गरिएका नवीन उत्पादन, सेवा, प्रक्रिया वा प्रणालीहरूलाई समेटिन्छ, जसले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, जलवायु परिवर्तन, सुशासन तथा सामाजिक समावेशीकरणलगायत विभिन्न क्षेत्रमा सफल कार्यान्वयनमार्फत प्रभावकारी योगदान पुर्‍याएका छन् । सरकारी सस्था, विकास साझेदार, सामाजिक संस्थाहरुको सहकार्यमा कम्पनिहरुले  विकास गरेर प्रयोगमा आएका ५ वर्ष अवधिसम्मका इन्नोभेसनहरुलाई यस विधामा समावेश गरिनेछ ।

  • योगदानका आधारमा प्रदान गरिने व्यक्तिगत सम्मानका विधाहरू:

५. पायोनियर आइसिटी अवार्ड २०२६
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट, दीर्घकालीन तथा प्रेरणादायी योगदान पुर्‍याएका अग्रज व्यक्तित्वलाई प्रदान गरिन्छ। यस विधामा कम्तीमा २० वर्ष वा सोभन्दा बढी अवधिको योगदान र कार्यअनुभव भएका व्यक्ति आफै वा अरु जो कोहिले सिफारिसद्वारा नोमिनेशन दर्ता गर्न सकिनेछ ।

६. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२६
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत आईटी प्रोफेसनलहरूका लागि लक्षित विधा हो। यस अवार्डमा कम्तीमा  ५ वर्षको व्यावसायिक अनुभव भएका तथा विभिन्न टेक डोमेनमा पुर्‍याएको योगदान, विशेषज्ञता, नेतृत्व र उल्लेखनीय कार्यका आधारमा सम्मान गरिनेछ। योग्य आईटी प्रोफेसनलहरू आफै वा अरु जो कोहिले सिफारिसद्वारा नोमिनेशन दर्ता गर्न सकिनेछ ।

७. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२६ (वुमन)
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड (वुमन) सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित विधा हो। यस अवार्डमा आईटी उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा प्रविधि क्षेत्रमा उदाहरणीय योगदान पुर्‍याएका महिलाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन्। कम्तिमा ५ वर्ष प्रोफेसनल अनुभव भएका महिला आफै वा अरु जो कोहिले सिफारिसद्वारा नोमिनेशन दर्ता गर्न सकिनेछ ।

८. आन्टरप्रेनर आइसिटी अवार्ड २०२६
आन्टरप्रेनर आइसिटी अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय नेपाली आईटी उद्यमीहरूलाई प्रदान गरिने विधा हो । रोजगारी सिर्जना र बिजनेश ग्रोथ सहित प्रविधि मार्फत राष्ट्रको लागि पुर्याएको योगदान यस विधाका मुख्य आधारहरु हुन् । कम्तिमा १० वर्षको ब्यबसायिक  अनुभव भएका आईटी उद्यमी आफै वा अन्य कोहिको सिफारिसद्वारा नोमिनेशन दर्ता गर्न सकिनेछ ।

९. नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२६
यो अवार्ड विदेशमा बसोबास गर्दै सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट नेपालको डिजिटल इकोसिस्टम, समाज तथा राष्ट्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली मूलका व्यक्तित्वलाई प्रदान गरिन्छ। विदेशमा रहेर कम्तिमा ५ वर्षको कार्य अनुभव भएका डायस्पोरा आफै वा अरु जो कोहिले सिफारिसद्वारा नोमिनेशन दर्ता गर्न सकिनेछ ।

  • संस्था तथा सेवासम्बन्धी अवार्ड विधाहरू

१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२६

यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटल प्रविधिमार्फत प्रभावकारी, सहज, सरल तथा नागरिकमैत्री बनाउँदै सेवा प्रवाहलाइ प्रविधिमैत्री तथा डिजिटल रुपान्तरणमा प्रयास गरिरहेका सरकारी संस्था, प्राधिकरण, विभाग, निकाय तथा स्थानीय तहहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् ।

११. डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२६ (सार्बजनिक क्षेत्र)

डिजिटल एजुकेसन आइसिटी  अवार्ड (सार्वजनिक क्षेत्र) सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगमार्फत शिक्षण, सिकाइ तथा शैक्षिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउने कार्यमा उल्लेखनीय योगदान गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरूका लागि लक्षित विधा हो। योग्य शैक्षिक संस्थाहरूले यस विधामा नोमिनेशन दर्ता गर्न सक्नेछन्।

१२. डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२६ (निजी क्षेत्र)

डिजिटल एजुकेसन आइसिटी अवार्ड (निजी क्षेत्र) सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगमार्फत शिक्षण, सिकाइ तथा शैक्षिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउने कार्यमा उदाहरणीय योगदान गरेका निजी शैक्षिक संस्थाहरूका लागि लक्षित विधा हो। योग्य संस्थाहरूले यस विधामा नोमिनेशन दर्ता गर्न सक्नेछन्।

१३. डिजिटल सर्भिसेस आइसिटी  अवार्ड २०२६ (इन्टरप्राइज सेक्टर)

यस विधामा निजी क्षेत्रका कर्पोरेट संस्था, लिमिटेड कम्पनी तथा अन्य व्यावसायिक संस्थाहरूले सर्वसाधारणलाई प्रदान गर्ने प्रविधिमैत्री सेवाका आधारमा नोमिनेशन दर्ता गर्न सक्नेछन्। आफ्नो परम्परागत सेवा प्रणालीलाई डिजिटल प्रविधिमार्फत आधुनिकीकरण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाएका कम्पनी, बैंक तथा वित्तीय संस्था, अस्पताल तथा स्वास्थ्य संस्था, बीमा कम्पनी, कर्पोरेट संस्था तथा अन्य सेवा प्रदायक संस्थाहरू यस अवार्डका लागि योग्य हुनेछन्।

१४. डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२६ (इमर्जिङ सेक्टर)

यो अवार्ड कृत्रिम बुद्धिमत्ता(AI), मेसिन लर्निङ, ब्लकचेन, आइओटी, रोबोटिक्स तथा अन्य उदीयमान प्रविधिको प्रयोग गरी नवीन, विस्तारयोग्य र प्रभावकारी डिजिटल सेवा वा समाधान विकास गर्ने संस्थाहरूलाई प्रदान गरिन्छ। यस विधामा प्राविधिक नवप्रवर्तन, बजारमा प्रभाव तथा वृद्धि सम्भावनालाई विशेष प्राथमिकता दिइनेछ । नेपालमा कानुनी रूपमा दर्ता भएका तथा पछिल्ला ५ वर्षभित्र डिजिटल प्रडक्ट वा सेवा सार्वजनिक गरेका स्टार्टअप,  प्रविधि तथा डिजिटल प्लाटफर्ममा आधारित कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन्।

अन्तर्राष्ट्रिय अवार्ड विधाहरू

१५. साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२६

यस विधामा दक्षिण एसियाका अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान तथा श्रीलंकाका स्टार्टअपहरूले सहभागिता जनाउन सक्नेछन्। कम्पनी दर्ता भएको मितिदेखि ५ वर्षभित्र रहेका टेक स्टार्टअपहरू यस विधामा नोमिनेशन दर्ता गर्न योग्य हुनेछन्।

१६. साउथ एसिया एआइ इन्नोभेसन आइसिटी  अवार्ड २०२६

साउथ एसिया  सोलुसन आइसिटी अवार्ड २०२६ दक्षिण एसियाका अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान तथा श्रीलंकाबाट विकास गरिएका उत्कृष्ट कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित प्रडक्ट तथा समाधानहरूलाई सम्मान गर्ने अन्तर्राष्ट्रिय अवार्ड हो।

यस अवार्डले एआइ नवप्रवर्तनलाई प्रोत्साहन गर्दै दक्षिण एसियाली देशहरूबीच प्राविधिक सहकार्य र उत्कृष्टतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

यस बाहेक प्रोभिन्स स्टार्टअप आइसिटी रिकोग्निसन २०२६ मार्फत सातै प्रदेशका १-१ उत्कृस्ट प्रविधि क्षेत्रमा क्रियाशील स्टार्टअपहरुलाइ सम्मान पनि गरिन्छ । यी सबै अवार्ड र सम्मानको लागि नोमिनेसन खुल्ला भएको अवधिभित्र जो कोहिले आवेदन दिन सकिनेछ ।

अवार्डको लागि आफु स्वयम् वा अरु जो कसैले पनि विधागत योग्यता पुग्ने व्यक्ति, सस्था, कम्पनि तथा इन्नोभेसनहरुले नोमिनेसन गर्न पाउने तथा सिफारिस गरिदिन पाउने व्यवस्था छ ।