काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्समा अध्यक्ष पुरुषोत्तमलाल संघई र दुइजना सञ्चालक समिति सदस्यतको वैधानिकतामा प्रश्न उठेपछि बिमा प्राधिकरणले सुरु गरेको अनुसन्धान र कारबाही अगाडि बढाउन आलटाल भएको छ ।
नयाँ अध्यक्षको पखाईमा रहेको प्राधिकरणमा वर्तमान अध्यक्ष र कार्यकारी निर्देशकले नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष र दुईसञ्चाल समितिको वैधानिकतामाथिको छानबिन र निर्णयलाई अगाडि बढाउन हच्किएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्समा अध्यक्ष र दुई सञ्चालकको वैधानिकता प्रश्न उठेपछि प्राधिकरणले कागजात माग गरेको थियो ।
२०८३ वैशाख २१ गते नै नेपाल लाइफले प्राधिकरणलाई जवाफ पठाएको थियो ।
नेपाल लाइफको जवाफपछि नियमन र कानुन महाशाखाले बीमा ऐन छलेको स्पष्ट देखिएको भन्दै अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलाई ब्रिफिङ् गरेका थिए । महाशाखाले ब्रिफिङ् गरे पनि अध्यक्ष पौडेल र कार्यकारी निर्देशक सुवेदीले अगाडि बढाउने आँट गरेका छैनन् ।
प्राधिकरण स्रोतले भन्यो,“ नयाँ अध्यक्षको पखाई पनि हुन सक्छ, वा ठुलो संस्था भएकोले पनि थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि नबढेको हुनसक्छ । नेपाल लाइफको४/५ वर्षदेखिका विषय टुङिगन बाँकी छन् । यो के हुन्छ हेरौँ ।” नेपाल लाइफको सिटी सेन्टर बिजनेस कम्पलेक्समा भएको लगानी बिबाद अझै प्राधिकरणले टुङ्ग्याउन सकेको छैन ।
के भएको थियो ?
नेपाल लाइफ इन्स्योरेन्सको २६ औँ साधारण सभा २०८२ पुस १९ गते वीरगञ्जमा भएको थियो ।
सधारण सभाबाट तीन जना सञ्चालक समिति सदस्य चयन भए । कम्पनी प्रर्वधकको तर्फबाट गोविन्दलाल संघई,कमलेश अग्रवाल, विवेक अग्रवाल सञ्चालक समितिमा चयन भए ।
संघईलाई अध्यक्ष बनाइयो र सपथ ग्रहणका लागि बिमा प्राधिकरणलाई आग्रह गरियो ।
बीमा प्राधिकरणले मागेका विवरणमध्ये प्रहरी रिपोर्ट गोविन्दलालले बुझाउन सकेनन् । स्रोतका अनुसार नेपाल लाइफले तत्कालै गोविन्दलाललाई सपथग्रहणको अनुरोध गरेको थियो । तर प्रहरी रिपोर्ट ल्याउन नसकेपछि गोविन्दलालको सपथ ग्रहण हुन सकेन ।”
गोविन्दलाललाई नै अध्यक्ष बनाउन नेपाल लाइफमा निकै कसरत भएको थियो । जसका कारण झण्डै दुइमहिना कम्पनी अध्यक्षविहिन हुन पुग्यो ।
गोविन्दलालले सपथ ग्रहण गर्ने वातावरण नभए पछि २०८२ माघ २१ गते नेपाल लाइफले कमलेश अग्रवाल र विवेक अग्रवालले सपथ ग्रहण गरेर पदभार गरेको पत्र सम्बन्धित निकायमा पठाएको छ । जाबकि यो बिचमा अध्यक्ष नै नियुक्त भएको छैन र अध्यक्षको हैसियतमा कसैले सपथ लिएको देखिदैन ।
बीमा ऐन अनुसार बिमा कम्पनीका अध्यक्षले प्राधिकरणका समक्ष र सदस्यले बिमा कम्पनी अध्यक्ष समक्ष सपथ लिनुपर्ने स्पष्ट व्यवस्था छ ।
नेपाल लाइफमा भने २०८२ पुस १९ देखि २०८२ फागुन २५ गते नयाँ अध्यक्ष चयन नहुँदासम्म अध्यक्ष पद खाली रहेको थियो । यी सबै कम्पनी ऐन टेकेर निर्णय गरेको भन्ने नेपाल लाइफको जिकिर छ । जबकि प्राधिकरणको कानुन र नियमन महाशाखाले यो गलत भएको निष्कर्ष निकालीसकेको छ ।
यस्तो अवस्थामा नयाँ कम्पनी सञ्चालकले सपथ लिएको भनेर गलत विवरण सम्बन्धित निकायलाई जानकारी गराएको देखिन्छ ।
गोविन्दलाललाई अध्यक्ष बनाउने कसरत पुरा नभएपछि २०८२ फागुन २४ गते बसेको नेपाल लाइफ इन्सोरेन्सको सञ्चालक समिति बैठकबाट गोविन्दलाल संघईको सञ्चालक समिति सदस्यको हैसियतमा दिइएको राजीनामा स्वीकृत गरेको देखिन्छ ।
गोविन्दलाल संघई सञ्चालकमा चयन भए पनि सपथ ग्रहण नै गरेका छैनन् । सपथ ग्रहण नगरेको अवस्थामा राजीनामा स्वीकृत भन्ने विषय नै नहुने बिमा प्राधिकरणका अधिकारीहरूको भनाई छ ।
अध्यक्ष र दुइजना सञ्चालकको वैधानिक हैसियत के हो ?
सपथ ग्रहण नै नभएर दुइजना नयाँ सञ्चालक कम्पनीको निर्णयमा सहभागि भएको देखिन्छ ।
२०८२ फागुन २४ गते गोविन्दलाल संघईको राजीनामा स्वीकृत गर्दा र नयाँ सञ्चालक समिति सदस्य पुरुषोत्तमलाल संघईलाई नियुक्त गर्दा तथा फागुन २५ गते पुरूषोत्तमलाललाई नै अध्यक्ष चयन गर्दा पनि सपथ नलिएका सञ्चालक समिति सदस्यको सहभागिता देखिन्छ । यो विवरण हेर्दा सदस्यदेखि अध्यक्षसम्मको वैधानिकतामा प्रश्न उठेको छ ।
विरगञ्जको साधारण सभापछि नेपाल लाइफ इन्स्योरेन्समा वाहलवाला तीनजना मात्रै सञ्चालक देखिन्छन् । पब्लिकका तर्फबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने, शर्मिला श्रेष्ठ महर्जन मात्रै साधारण सभापछि सञ्चालक छन् । अहिले अध्यक्षसहित ६ जना सञ्चालक रहेको कम्पनीको वेवसाइटमा देखिन्छ । यो हेर्दा पुरुषोत्तमलाल संघईलाई सञ्चालक नियुक्ति गर्दा सञ्चालक बोर्डको बहुमत थिएन । कानुनअनुसार पुरुषोत्तमलाललाई सञ्चालकमा नियुक्त गर्दा र अध्यक्षमा नियुक्त गर्दा कोरम पुगेको देखिदैन ।
अनुसन्धान प्रक्रिया कहाँ पुग्यो ?
प्राधिकरणले यसबारे सोधखोज गरेपछि गत वैशाख २१ गते नेपाल लाइफले जवाफ पठायो । जवाफमा सबैकाम कम्पनी ऐनअनुसार निर्णय भएको भनेर भनिदियो । यसले बीमा प्राधिकरणका अधिकारीहरू झस्किए ।
प्राधिकरणको नियमन विभाग र कानुन विभागले बीमा ऐन हुँदाहुँदै कम्पनी ऐनको बैठक बोलाउने दफामात्रै टेकेर लापरबाही गरेको निष्कर्षसहित बोर्डलाई जानकारी गराए ।
यस विषयमा कार्यकारी निर्देशक र अध्यक्ष भने मौन देखिएका छन् । स्रोतले भन्यो,“ हामीले सबै विषय जानकारी गराएका छौँ तर खासै प्रक्रिया अघि बढेको छैन ।” यस विषयमा थप उजुरीसमेत परेको स्रोतको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्