पार्टी र सरकारबिचको सन्तुलन मिलाउने सभापतिको प्रतिबद्धतापछि ढुक्क भए अर्थमन्त्री वाग्ले


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकाभित्र प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको दूरी बढ्दै गएपछि पार्टी सभापति रवि लामिछानेले पार्टी उपसभापति र सरकारमा पनि दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग ‘नाइट स्टे’ छलफल गरेका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित ‘दुसित थानी’ रिसोर्टमा दुईदिनअघि अर्थपूर्ण भेटवार्ता भएको छ । यो छलफल यस्तो अवस्थामा भएको छ जतिबेला अर्थ मन्त्री वाग्ले सबैभन्दा आलोचनाका घेरामा छन् ।

उनी आलोचनाको सिकारमात्रै भएका छैनन्, प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि तामलेल मिलेको देखिदैन । सार्वजनिक रूपमा नबोलने पनि स्वर्णिम वाग्ले अर्थमन्त्रीको हैसियतले निकै अक्करमा परेर काम गरिरहेका छन् । सरकारभित्र पनि चेपुवामा र बाहिर पनि व्यापाक अलोचना भइरहेका बेला यो छलफल भएको छ ।

अति भएपछि छलफल

सरकारले आफ्नो तीन महिने कार्यकाल पूरा गरिसकेको छ । आम जनतामा सरकारप्रति विस्तारै असन्तुष्टिको स्वर सुनिदैछ । अर्थतन्त्रलाई गति दिनुपर्ने अवस्थामा अर्थतन्त्रको साँचो हातमा लिएका अर्थमन्त्री वाग्ले अहिले सबैभन्दा अप्ठेरोमा देखिन्छन् । उनी अफ्ठेरोमा पर्नुको एउटा मुख्य पाटो भनेको प्रधानमन्त्री र उनको सचिवालयसँग तालमेल नमिल्नु हो ।

स्वर्णिम सुरुमै अर्थतन्त्रलाई गति दिनका लागि प्रयास गर्नुपर्छ भन्ने मानसिकतामा थिए । यसका लागि प्रधानमन्त्रीसँग पटकपटक छलफल गर्ने प्रयास गरिरहेका थिए तर उनको अपेक्षा पूरा भएन । अर्थ मन्त्रालयका अधिकारीसँग अर्थमन्त्री वाग्लेले दिक्दारी व्यक्त गर्ने गरेका थिए । वाग्लेले ‘छलफल गरौँ भन्यो प्रधानमन्त्री्ज्यू धेरै बोल्नुहुन्न । के भन्ने ?’ भनेर बेलाबेलामा अर्थ मन्त्रालयका अधिकारीसँग भन्ने गरेका थिए ।

वाग्लेले छलफल गर्न खोजेका विषयमा प्रधानमन्त्रीले कम चासो दिने गरेका थिए । अर्थ मन्त्रालयका एक अधिकारीले भने,“छलफल लागि लागिएका विषय पनि धेरै छलफल हुन पाएन भन्दै फर्कनुहुन्थ्यो अर्थमन्त्रीज्यू ।”

वाग्लेले अर्थतन्त्रका विषयमा वृहत छलफल गर्ने र त्यसैअनुसार प्रशासनिक नेतृत्वबारे छलफल गर्ने प्रयास गर्दा ‘आफ्नो मन्त्रालयको काममा ध्यान दिन’ भन्दै ठुला नियुक्ति, सरुवा, बढुवामा ध्यान नदिन सन्देश दिएको अर्थ स्रोत दाबी गर्छ ।

प्रारम्भमै अर्थमन्त्री वाग्ले दबाबमा पर्न सुरु गरिसकेका थिए । लगत्तै बजेट निर्माणका क्रममा पनि प्रधानमन्त्री कार्यालयले समानान्तर गतिविधि चलायो । सम्भवतः प्रधानमन्त्री कार्यालयले आफ्नै समूहमार्फत बजेटमा हात हालेको पहिले पटक हुन सक्छ ।

यसअघि प्रधानमन्त्रीको प्रत्यक्ष चासो हुने भए पनि समानान्तर टिमै बनाएर बजेटमा हस्तक्षेप गरेको अनुभव पूर्व अर्थप्रशासकसँग छैन ।

प्रधानमन्त्री निकटका एक युवाअर्थशास्त्री र एक सहसचिवको नेतृत्वमा ठुलो आकारको बजेट बनाउने पहल सुरू गरेसँगै अर्थमन्त्री वाग्ले सशङ्कीत भएका थिए । अर्थतन्त्र सङ्क्रमकाणकाली अवस्थामा रहेकाले वास्तविकताको नजिक रहेर बजेट ल्याउने अडाउन उनले देखाए ।

तर, बजेट सार्वजनिक भएससँगै शिक्षा, स्वास्थ्य, विद्युत, राइड सेयरिङजस्ता जनसरोकारका क्षेत्रमा लगाइएको करबारे जनस्तरबाट विरोध भएपछि प्रधानमन्त्रीको सल्लाहकार टिम नै सामाजिक सञ्जालमा वाग्लेका विरुद्ध उत्रिएको वाग्ले निकट स्रोतले टक्सारन्युजलाई बतायो ।

“अहिले अर्थमन्त्री वाग्लेलाई असफल देखाउन सरकारकै एक पक्षबाट जस्ता किसिमका न्यारेटिभ बनाइँदैछ, यसले अन्ततः पार्टी र सरकार दुवैलाई हानि पु¥याइरहेको हामीले अनुभूति गरेका छौँ,” उनले भने, “अर्थमन्त्री वाग्लेले ल्याएको बजेट बल्ल साउन १ गतेबाट कार्यान्वयनमा गएको हो । बजेटको कार्यान्वयन नै नभइ सफल–असफलको न्यारेटिभ बनाउन थालिसकिएको थियो ।”

अर्थ मन्त्रालयको सरुवामा समेत प्रधामन्त्री कार्यालयको चासो देखियो जसका कारण आन्तरिक राजस्व विभाग २ महिना खाली भयो ।

अन्तिममा प्रधानमन्त्री कार्यालयको चाहनाअनुसार प्रधानमन्त्रीलाई नजिकबाट सघाइरहेका सहसचिव डा. भीष्मकुमार भुसाललाई विभागको महानिर्देशक बनाएर पठाइयो ।

मुख्यसचिवमा समेत टकराव भएको थियो । मुख्यसचिव अहिलेका अर्थसचिव घनश्याम उपाध्यायलाई बनाउने तयारी थियो ।

उपाध्यायले पनि आफू रास्वपालाई समर्थन गर्ने ‘१ नम्बर’ प्रशासनक हो भनेर विश्वासमा ल्याउने प्रयास गरेका थिए । अहिलेका मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई अर्थसचिव बनाएर पठाउने चाहना प्रधानमन्त्री कार्यालयको थियो तर रोकियो ।

यहाँ पनि गोलमाल भयो र कार्कीलाई मुख्यसचिव बनाइयो । सम्भवतः यसमा रविको मनमा समेत चिसो परेको हुन सक्ने रास्वपा वृत्तमा चर्चा छ ।

यो बिचमा लगानीको वातावरण नबनेको भनेर व्यवसायीहरूको असन्तुष्टिको स्वर सुनिन थालेको थियो । यसमा अर्थमन्त्री वाग्लेलाई दोष देखाउने गरी उनलाई ‘बाइपास’ गरेर धमाधम ठुलादेखि मझौला खालका उद्योगी व्यवसायीलाई समेत प्रधानमन्त्री आफैले छलफल सुरु गरे । यसपछि पार्टी सभापति र उपसभापति ‘एकान्तवास’मा पुगेर छलफल गरेका हुन् ।

स्वार्णिमको प्रश्न,‘पार्टी नै जिम्मा लगाउने कि सन्तुलन मिलाउने ?’

स्रोतहरूका अनुसार सभापति रवि लामिछानेसँग उपसभापति स्वर्णिमले गम्भीर गुनासो गरेका थिए । छलफलका क्रममा अर्थमन्त्री वाग्लेले ‘कि त पार्टी नै जिम्मा लगाउन प¥यो कि त पार्टी र सरकारको सन्तुलन मिलाउन’ पर्‍यो भनेका थिए ।

वाग्लेले प्रधानमन्त्री कार्यालयको टिमबाट आफूलाई बदनाम गराउने प्रयास भएको र कार्यसञ्चालनमा पनि पेलिएको उल्लेख गरेका थिए । सरकार र पार्टीको सन्तुलन नमिलेको भन्दै वाग्लेले ‘यस्तै भए त पार्टी विघटन गरेर हिँडे भयो’ सम्म भनेका थिए ।

आफूलाई सरकारभित्र पनि असफल बनाउन खोजिएको र बाहिर पनि अलोकप्रिय बनाउन खोजिएको स्वर्णिमको गुनासो थियो । छलफलका क्रममा सभापति लामिछाने गम्भीर बनेका थिए । उनले पार्टी र सरकारको सन्तुलन मिलाउनुपर्नेमा आफू स्पष्ट रहेको बताएका थिए ।

अर्थमन्त्री हटाउनेसम्मको हल्ला चलिरहेका बेला सभापति लामिछानेले वाग्लेलाई यस्तो कुरा नसोच्न भनेका थिए ।

सभापति लामिछानेले अब पार्टी र सरकारबिचको सन्तुलन जसरी पनि मिलाउने बताएका थिए ।

विगतमा तीन महिनामा देखिएको गल्ती अब दोहारिने नदिने उनको प्रतिबद्धता थियो । स्रोतका अनुसार रविले आफू अझै पनि प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका थिए । स्वर्णिमलाई विश्वास दिलाउनका लागि सभापति लामिछानेले ‘तपाईं नै अघि सर्नुपर्ने हुनसक्छ’ भन्ने आशयका साथ अर्थमन्त्रीबाट नहटाउने र ढुक्क भएर काम गर्न भनेको उच्च स्रोतको दाबी छ ।

ढुक्क अर्थमन्त्री वाग्ले

रिसोर्टको बसाईपछि अर्थमन्त्री वाग्ले ढुक्क बनेर फर्किएका छन् । हटाउने हल्लाले उनी मनोवैज्ञानिक दबाबमा परेका थिए ।

प्रधानमन्त्रीसँग पार्टी सभापतिले समन्वय गरेर पार्टी र सरकारको सन्तुलन मिलाउने, अर्थतन्त्रलाई सकारात्मक बाटोमा लौजान अर्थमन्त्रीले पहल गर्ने र बाहिरका हल्ला मिलेर चिर्ने समझदारी गरेर दुई नेता फर्किएका छन् ।

स्रोतले भन्यो,“अर्थमन्त्रीलाई अब सहज ढङ्गले काम गर्ने वातावरण बन्छ होला । यसको नतिजा केही दिनमै देखिने छ ।”