गोकर्णेश्वरमा युवतीद्वारा आत्मदाह प्रयास


काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा २७ वर्षीया सालु गुरुङले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारी बस्दै आएकी गुरुङले गएराति करिब २ः५० बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटनापछि उनका श्रीमानले उनलाई उद्धार गरी शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्‍याएका थिए। त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ।

प्रहरीका अनुसार गुरुङको अनुहार, छाती र दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। उनी सामान्य बोल्न सक्ने अवस्थामा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।