काठमाडाैँ । विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेका छन् ।
बुधबार विपक्षी दलहरुले सरकारको मनसुनजन्य विपद् व्यवस्थापन पूर्वतयारी कमजोर रहेको आरोप लगाउँदै प्रस्ताव दर्ता गराएका हुन् ।
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रुपमा प्रस्ताव दर्ता गराएका हुन् । सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले मनसुन शुरु भइसक्दासमेत सरकारले प्रभावकारी पूर्वतयारी गर्न नसकेको आरोप लगाए ।
उनले गत वर्ष मनसुनका कारण १४० भन्दा बढी नागरिकको ज्यान गएको र १४ हजारभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै यस्ता घटनाबाट हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको बताए । हाल राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण समेत नेतृत्वविहीन रहेको उल्लेख गर्दै उनले विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने आशंका व्यक्त गरे ।
उनले सरकारलाई नागरिकको जिउधनको सुरक्षाप्रति थप जिम्मेवार र संवेदनशील बनाउन सार्वजानिक महत्वको प्रश्ताव संसदमा दर्ता गराएको जानकारी दिए । विपद्को असर सबै समुदायमा समान नपर्ने उल्लेख गर्दै उनले गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, जनजाति लगायतका समूहका आवश्यकतालाई ध्यानमा राखेर पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।
पूर्वसूचना प्रणाली, उद्धार सामग्री, उद्धारकर्मीको तयारी, बजेट व्यवस्थापन तथा स्थानीय तहसम्म समन्वय संयन्त्रको प्रभावकारिताबारे सरकारले संसदलाई स्पष्ट पार्नुपर्ने उनको माग छ ।
नेपाल कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक मदनकुमारी शाहले जलवायु परिवर्तनका कारण यसवर्ष मनसुनबाट हुने क्षतिको जोखिम थप बढेको बताइन् । सरकारले राष्ट्रिय कार्ययोजना बनाएपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनको भनाइ छ । उनले सरकारलाई जिम्मेवार बनाउन ध्यानाकर्षण प्रश्ताव दर्ता गरिएको जानकारी दिइन् ।
उनले पनि विपद् व्यवस्थापनको नेतृत्व गर्ने संस्था हाल नेतृत्वविहीन रहेकोले पनि मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी फितलो हुन पुगेको बताइन् । लगातार वर्षा, पहिरो र नदीको जलस्तर बढिरहेको उल्लेख गर्दै उनले विगतका कमजोरी दोहो¥याउन नदिन सरकारको ध्यानकर्षण गराईएको बताइन् ।
नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले बाढीपहिरोको जोखिम बढ्दै गइरहेका बेला सरकारको तयारी पर्याप्त हुनुपर्नेमा जोड दिए । तर हाल सरकारको तयारी कमजोर रहेको उनको भनाइ छ । उनले मनसुनजन्य जोखिमहरु भदौमा बढी हुने गरेको उल्लेख गर्दै विपद् पूर्वतयारीका विषयमा सरकारको ध्यानाकर्षण गराउन सबै दलको तर्फबाट प्रश्ताव दर्ता गरिएको बताए ।
उनले देशका सबै भू–भागमा सम्भावित विपद्को समान रूपमा पूर्वतयारी, उद्धार र राहत व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । उनले काठमाडौँबाट हटाइएका भूमिहीन सुकुम्बासीहरू अहिले होल्डिङ सेन्टरमा बसिरहेकाले मनसुनका बेला उनीहरूको सुरक्षा सुनिश्चित गर्ने योजना पनि सरकारले ल्याउनुपर्ने बताए । सरकारलाई थप जिम्मेवार बनाउन संयुक्त ध्यानाकर्षण प्रश्ताव दर्ता गरिएको उनको भनाइ छ ।
नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रश्तुत गरेकाे सार्वजानिक महत्वको प्रश्तावमा काँग्रेसकै प्रमुख सचेतक परियार, नेकपाकी प्रमुख सचेतक शाह, एमाले सांसद पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले सर्मथन गरेका हुन् । प्रश्तावमा मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहेको र विगतका विपद्मा ठूलो जनधनको क्षति भएको तथ्याङ्क प्रश्तुत गरिएको छ ।
सरकारले हरेक वर्ष विपद् आएपछि मात्र उद्धार र राहतमा ध्यान दिने गरेको भन्दै विपक्षी दलहरुले समयमा नै पूर्वतयारी गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्