काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित नेतृत्वले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ ।
गत असार २७ गते भएको निर्वाचनमा विजयी राजुमान डंगोल समूहले आज औपचारिक रुपमा पदभार ग्रहण गरेको हो ।
निर्वाचनमा अध्यक्ष डंगोलसहित प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्धितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका थिए ।
यस्तै, महासचिवमा पशुपति कँडेल, सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएका थिए । यस्तै, सदस्यमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईं र चन्द्रा तामाङ विजयी भएका थिए ।
उनीहरूलाई प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीले पद तथा गोपनीयताको शपथग्रहण गराए ।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष राजुमान डंगोलले ठमेल क्षेत्रको पर्यटन प्रवर्धन, व्यवसायीहरूको हित संरक्षण तथा पर्यटनमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
उनले ठमेल नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले यसको गरिमा अझ उचो बनाउन सबै व्यवसायी, सरोकारवाला निकाय तथा सरकारी निकायसँग सहकार्य गर्दै काम गर्ने बताए ।
अध्यक्ष डंगोलले ठमेललाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्रका रूपमा विकास गर्न परिषद्ले विशेष योजना अघि बढाउने उल्लेख गरे ।
“ठमेलको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पु¥याउन परिषद् सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्नेछ। व्यवसायीहरूको हकहित संरक्षण, पर्यटन प्रवद्र्धन र ठमेलको समग्र विकास हाम्रो पहिलो प्राथमिकता हुनेछ,” उनले भने ।


प्रतिक्रिया दिनुहोस्