काठमाडाैँ । प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इण्ड्रस्ट्रिज एण्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संस्था ‘अनररी कन्सुलर कर्पस् नेपाल’ (एचसीसीएन) को डीनमा निर्विरोध निर्वाचित भएका छन् ।
डीन वैद्यले नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा एचसीसीएनले नेतृत्वदायी भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आफ्नो कार्यकालको योजना प्रश्तुत गर्दै वैद्यले एचसीसीएनलाई केवल एउटा ‘क्लव’ को रूपमा मात्र नभई मुलुकको विकासका लागि जिम्मेवार संस्थाका रूपमा अघि बढाउने बताए ।
वैद्यले वर्तमान सरकारले अघि सारेको ‘आर्थिक कुटनीति’ को अवधारणालाई सफल पार्न एचसिसिएनले सरकारसँग काँधमा काँध मिलाएर काम गर्ने बताए । दक्षिण एशियामा नेपालको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अवस्था न्युन रहेकोप्रति चासो व्यक्त गर्दै उनले लगानीकर्ताहरूलाई नेपाल सुरक्षित गन्तव्य हो भनेर आश्वस्त पार्न एचसीसीएनले सक्रिय भुमिका खेल्ने उल्लेख गरे ।
अवैतनिक वाणिज्यदुतहरूलाई हेर्ने सार्वजनिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै उनले संस्थाभित्र व्यावसायिक विकास र तालिमका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए । उनले वाणिज्यदुतहरूको भुमिका सुविधा र ‘निलो नम्बर प्लेट’ मा मात्र सिमित नभई उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको भुमिका र नेपालले प्राप्त गरेको सम्मानका बारेमा जनस्तरमा जानकारी गराउनु आवश्यक रहेको बताए ।
उनले भने, “हाम्रो भुमिका केवल आलंकारिक मात्र होइन । हामी ६४ वटा देशको प्रतिनिधित्व गर्छौं, जसले विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव १०० ट्रिलियन डलर र विश्व जनसंख्याको २० प्रतिशत हिस्सा ओगट्छन् । यो ठूलो शक्ति र अवसरलाई नेपालको हितमा प्रयोग गर्नु हाम्रो प्राथमिकता हुनेछ । हामी सरकार, लगानी बोर्ड, पर्यटन बोर्ड र निजी क्षेत्रका छाता संगठनहरू (एफएनसीसीआई, सीएनआई र चेम्बर अफ कमर्स) सँग नजिक रहेर काम गर्नेछौँ । निजी–सार्वजनिक साझेदारी नै देश अघि बढाउने मुख्य माध्यम हो ।”
आफ्नो कार्यकालभित्रै युरोपका विभिन्न देशहरूमा नेपालको प्रवद्र्धनका लागि ‘रोड शो’ आयोजना गर्ने लक्ष्य राखेका छन् । काठमाडौँमा सम्पन्न एचसिसिएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो । यसअघि बुल्गेरियाका लागि नेपालस्थित भोला थापा यसको डीन थिए । सम्मेलनले एचसीसीएनको भाइस डीनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।
नेपालको औद्योगिक क्षेत्रमा लामो योगदान र अनुभव बटुलेका वैद्यको ६ दशकभन्दा पुरानो व्यापारिक घराना वैद्य अर्गनाइजेसन टोयोटा गाडीको आधिकारिक विक्रेताका रूपमा लामो समयदेखि रहँदै आएको छ । योसँगै ग्रुपले अटोसँगै सिमेन्ट, हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्