काठमाडौँ। देशको वैदेशिक व्यापारको आधिकारिक तथ्याङ्कमा निर्यातको ग्राफले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरिरहँदा त्यसको वास्तविक धरातल भने तयारी खानेतेलको ‘पानीफोका’मा टिकेको पाइएको छ।
भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अन्तिम तथ्याङ्कले नेपालको वैदेशिक व्यापार इतिहासमै पहिलोपटक कुल वस्तु निर्यात रु ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार ५ सय पुगेको देखाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा रु २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजारमा पुगेको निर्यातमा १३.८१ प्रतिशतले बढेको देखिए पनि कुल राष्ट्रिय निर्यातको झन्डै ४३.४९ प्रतिशत हिस्सा केवल तेस्रो मुलुकबाट भित्र्याइने कच्चा खाने तेलले ओगटेको पाइएको छ ।
आर्थिक वर्ष २०८२/८३मा देशको कुल आयात १६.२० प्रतिशतले बढेर रु २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार पुर्याएको छ।
यसका कारण कुल व्यापार घाटा १६.६३ प्रतिशतले विस्तार भई रु १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजारको ऐतिहासिक उचाइमा पुगेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले कुल रु १ खर्ब ६८ अर्ब २७ करोड २८ लाख ७२ हजार मूल्य बराबरको कच्चा खाने तेल आयात गरेको छ।
यसमध्ये सबैभन्दा ठूलो हिस्सा कच्चा भटमासको (सोयाबिन) तेलको छ, जसको पैठारी रु १ खर्ब ३२ अर्ब ७६ करोड ९५ लाख ९७ हजार (८० करोड १२ लाख ९६ हजार ८ सय ३२ लिटर) बराबर रहेको छ। दोस्रो स्थानमा रहेको कच्चा सूर्यमुखी तेल रु २१ अर्ब ७७ करोड ३१ लाख०२ हजार (१२ करोड ७४ लाख ८७ हजार ७ सय १३ लिटर) र तेस्रो स्थानमा रहेको कच्चा पाम तेल रु १३ अर्ब ७३ करोड०१ लाख ७३ हजार (८ करोड ५९ लाख ८६ हजार ६ सय ६५ लिटर) आयात भएको छ।
यसको तुलनामा वितेको आर्थिक वर्षमा नेपालबाट भएको कुल प्रशोधित खाने तेलको निर्यात भने रु १ खर्ब ३७ अर्ब ११ करोड ५५ लाख ६० हजार रहेको छ।
निर्याततर्फ प्रशोधित भटमासको तेल र यसका अंशहरूले रु १ खर्ब २८ अर्ब ७४ करोड ४० लाख २७ हजार (५९ करोड ३८ लाख २३ हजार ५३ किलो) ओगटेका छन्।
त्यस्तै, पाम तेल समूह अन्तर्गत आरबीडी पाम तेल रु १ अर्ब ६८ करोड ७९ लाख ६५ हजार (८८ लाख ८८ हजार ४ सय लिटर), आरबीडी पाम ओइलिन रु ६ अर्ब ६६ करोड ६८ लाख ७३ हजार (३ करोड २६ लाख ९२ हजार ९ सय २८ लिटर), आरबीडी पाम स्टेयरिन रु १ करोड ६६ लाख ७० हजार (९५ हजार ७५ लिटर) र अन्य प्रशोधित पाम तेल रु २५ हजार (१ सय ३४ लिटर) गरी कुल पाम तेलको निर्यात रु ८ अर्ब ३७ करोड १५ लाख ३३ हजार भएको देखिन्छ।
आर्थिक वर्ष २०७९/८० देखि आ.व. २०८२/८३ सम्मको चार वर्षको व्यापारिक तथ्याङ्कलाई दाँजेर हेर्दा खाने तेलको निर्यातमा भइरहेको चलखेल स्पष्ट देखिन्छ।
आर्थिक वर्ष २०८०/८१ मा रु ९.०२ अर्बमा सीमित रहेको भटमासको तेलको निर्यात आ.व. २०८१/८२ मा एकाएक ११ गुणाभन्दा बढीले बढेर रु १०६.७९ अर्ब को कीर्तिमानी उचाइमा पुग्यो। चआ.व. २०८२/८३ मा यो अझै उकालो लाग्दै रु १ खर्ब २ अर्ब ७४ करोड पुगेको छ।
यसअघि आ.व. २०७९/८० मा रु २०.५० अर्बको पाम तेल निर्यात भई नम्बर १ स्थानमा रहेकोमा भारतले पाम तेलको आयात नीतिमा केही हेरफेर गर्नासाथ सो निर्यात घटेर रु ६.३३ अर्बमा खुम्चिएको देखिन्छ।
आ.व. २०७९/८० मा नेपालबाट रु २० अर्ब ५० करोड बराबरको पाम तेल, रु ८ अर्ब ४७ करोडको भटमासको तेल र रु ४४ करोडको सूर्यमुखी तेल गरी कुल रु २९ अर्ब ४१ करोडको तेल निर्यात भएको थियो।
तर, आ.व. २०८०/८१ मा भटमासको तेलको निर्यात रु ९ अर्ब २ करोड, पाम तेलको निर्यात घटेर रु ६ अर्ब ३३ करोड र सूर्यमुखी तेलको निर्यात रु १६ करोडमा रहेको थियो।
त्यसपछिको वर्ष आ.व. २०८१/८२ मा भारतले आन्तरिक भन्सार दर बढाउनासाथ नेपाली नाममात्रका प्रशोधनकर्ताहरूका लागि ढोका खुल्यो र भटमासको तेलको निर्यात एकै वर्षमा ११ गुणाभन्दा बढीले बढेर रु १ खर्ब ६ अर्ब ७९ करोड पुग्यो। एकै वर्षमा कुनै पनि वास्तविक उत्पादनमूलक उद्योगको क्षमता यसरी ११ गुणाले वृद्धि हुन असम्भव नै हुन्छ।
सो वर्ष पाम तेल रु ६ अर्ब ८१ करोड र सूर्यमुखी तेल रु १२ अर्ब ३२ करोड गरी कुल खाने तेलको निर्यात रु १३३ अर्ब ८५ करोड पुगेर कुल राष्ट्रिय निर्यातको ४८ प्रतिशत हिस्सा ओगट्न पुगेको थियो।
आयातित कच्चा पदार्थ र निर्यातित प्रशोधित वस्तुको परिमाण र रकम हेर्दा यो व्यापारले राष्ट्रिय अर्थतन्त्रलाई कति न्यून लाभांश दिन्छ भन्ने यथार्थ देखिन्छ। आ.व. २०८०/८१ मा नेपालले रु १३ अर्ब ४१ करोडको कच्चा भटमासको तेल आयात गरेकोमा आ.व. २०८१/८२ मा आयात रकम ह्वात्तै बढेर रु १ खर्ब८ अर्ब ९५ करोड पुगेको थियो। यही अवधिमा कच्चा सूर्यमुखी तेलको आयात रु १७ अर्ब ८३ करोडबाट बढेर रु २९ अर्ब २ करोड र कच्चा पाम तेलको आयात रु १० अर्ब ५९ करोडबाट बढेर रु १६ अर्ब ८१ करोड पुग्यो।
आ.व. २०७९/८० मा रु ४४ करोड र २०८०/८१ मा रु १६ करोडमा सीमित रहेको सूर्यमुखी तेल को निर्यात पनि आ.व. २०८१/८२ मा ह्वात्तै बढेर रु १२.३२ अर्ब पुग्यो। चालू आ.व. मा कच्चा सूर्यमुखी तेलको आयात नै रु २१अर्ब ७७करोड अर्ब पुगेको छ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालले कुल रु १ खर्ब ६८ अर्ब २७ करोड मूल्य बराबरको कच्चा खाने तेल आयात गरेको छ। यसमध्ये रु १ खर्ब ३२ अर्ब ७७ करोड बराबरको ८० करोड १२ लाख ९६ हजार लिटर कच्चा भटमासको तेल, रु २१ अर्ब ७७ करोड बराबरको १२ करोड ७४ लाख ८७ हजार लिटर कच्चा सूर्यमुखी तेल र रु १३ अर्ब ७३ करोड बराबरको ८ करोड ५९ लाख ८६ हजार लिटर कच्चा पाम तेल आयात भएको देखिन्छ।
जति रकमको कच्चा तेल ल्याइयो, त्यति नै रकम बराबरको प्रशोधित तेल सोझै भारततर्फ निकासी गरिएको यो तथ्याङ्कले नेपालभित्र आन्तरिक खपत वा भण्डारणका लागि थोरै मात्र अंश रहने गरेको देखाउँछ। आयात र निर्यातको मूल्यमा देखिएको यो अन्तर २ प्रतिशत देखि ३ प्रतिशतमात्र रहेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्