विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरबारभित्रै,विज्ञलाई प्रतिसेसन ५ हजार रुपैयाँ


काठमाडाैँ । सङ्घीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिले आफ्ना सदस्यहरूका लागि आयोजना गर्ने अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै सञ्चालन गर्ने भएको छ । 

समितिको आज बसेको बैठकमा सभापति कृष्णबहादुर रोकायले आर्थिक स्रोतको अभाव र मितव्ययितालाई ध्यानमा राख्दै बाहिर जानुको सट्टा संसदकै हलहरू प्रयोग गरिने जानकारी दिए ।

बैठकमा केही सदस्यहरूले फ्रेस हुने र नयाँ वातावरणमा छलफल गर्ने उद्देश्यले सिंहदरवार बाहिर कार्यक्रम गर्न सुझाव दिएका थिए ।

समितिले हालै दुईवटा उपसमिति गठन गरेको छ । कानुन मापन र अन्तर–विधायी सम्बन्ध उपसमिति छन् ।

यी उपसमितिका सदस्यहरूलाई कार्यक्षेत्रका बारेमा स्पष्ट पार्न र कानून मापनको आवश्यकता, आधार तथा प्रक्रियाबारे विज्ञहरूबाट जानकारी गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सभापति रोकायले बताए ।

सभापति रोकायकाअनुसार समितिले विज्ञहरूलाई दिने पारिश्रमिकको विषयमा पनि स्पष्ट पारेको छ । हालको मापदण्डअनुसार विज्ञलाई प्रतिसेसन ५ हजार रुपैयाँ मात्र उपलब्ध गराउन सकिने र छुट्टै बजेट नभएकाले पनि बाहिर कार्यक्रम गर्न सम्भव नभएको रोकायको भनाइ छ ।