राष्ट्र बैंकको निर्देशन पछि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर संसोधन गरे


काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित व्याजदर बढाएका बैंक वित्तीय संस्थाहरुलाई संसोधन गर्न निर्दशन दिएको छ । बैंक वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन नम्बर १५ को उल्लंघन गरेर व्याजदर निर्धारण गर्न थाले पछि संसोधन गर्न निर्देशन दिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिए ।

“आगामी महिनामा लागु हुने व्याजदर अघिल्लो मसान्त भित्र प्रकाशित गरिसक्नु पर्नेछ भनिएको छ” प्रवक्ता ढकालले भने “भदौ मसान्त भन्दा पछि असोजमा व्याजदर परिर्वतन गरेका बैंक तथा वित्तीय संस्थालाई मात्रै व्याजदर परिर्वतन गर्न निर्देशन दिइएको हो ।”

यसका लागि बैंकहरु आफैले आन्तरिक रुपमा मूल्याङ्कन गर्नु पर्छ अर्थात आगामी महिनाको लागि अहिले नै प्रक्षेपण गर्नु पर्छ । आफ्नो सम्पत्ती दायित्वको अवस्थालाई विश्लेषण गर्दै आगामी महिना भरिका लागि आजै पोलिसी निर्माण गर्नु पर्ने ढकाल बताउछन् ।

असोज महिलनामा उच्च रुपले ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंकको निर्देशनपछि ब्याजदर संशोधन गर्न थालेका छन्।

केन्द्रीय बैंकले यसअघि नै निक्षेपको ब्याजदर अधिकतम ५ प्रतिशतभन्दा धेरैले फरक पार्न नपाइने व्यवस्था गरेको थियो। तर कतिपय बैंकहरुले साधारण बचत र मुद्दति निक्षेपको ब्याजदर नै ५ प्रतिशतभन्दा धेरैले फरक हुनेगरी सूचना निकालेका थिए। सो पश्चात केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन निर्देशन दिएको थियो।

केन्द्रीय बैंकको निर्देशनपछि बुधबार केहि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर संशोधन गरेर नयाँ सूचना निकाल्न थालेका छन्। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक महिनामा एक पटक मात्रै ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ। तर कतिपय बैंकहरुले एकै महिनामा दुई पटकसम्म ब्याजदर प्रकाशित गरेका छन् ।

बुधबार केही बैंक तथा वित्तिय संस्थाहरुहरुले भुलबस सूचना सार्वजनिक भएको भन्दै संसोधन गरि नयाँ सूचना निकालेका छन् ।

सिटिजन्स बैंक ले असोज ४ गते प्रकाशित गरेको दशै तिहार मुद्दति निक्षेप योजना स्थगित गरिएको भन्दै नयाँ सूचना निकालेको छ भने मञ्जुश्रीफाइनान्सले पनि भदौ ३१ गते सार्वजानिक गरेको पुरानै ब्याजदर लागु गर्ने जनाएको छ । मन्जुश्रीले असोज ४ गते नयाँ ब्याजदर सम्बन्धी सूचना सार्वजनिक गरेको थियो। तर उसले उक्त सूचना भुलबस सार्वजानिक भएको भन्दै पुरानै ब्याजदर लागु हुने प्रस्ट पारेको छ।

यसैगरी, प्रोग्रेसिभ फाइनान्सले पनि भदौ ३१ गते र असोज १ गते दुई वटा ब्याजदर सम्बन्धी सूचना जारी गरेको थियो। तर फाइनान्सले बुधबार एक सूचना जारी गर्दै पुरानै ब्याजदर लागु हुने जनाएको छ।

यसैगरी राष्टबैंकको निर्देशन पछि गरीमा विकास बैंक र मुक्तिनाथ विकास बैंकले पनि ब्याजदर संशोधन गरेका छन्।