काठमाडाैँ । नेपालको यातायात पूर्वाधारको इतिहासमा एक महत्वपूर्ण कोशेढुङ्गा पार गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
‘अपरेसनल’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमवार आयोजित एक समारोहका बिच यस सुरुङमार्गको उद्घाटन भएसँगै नेपाली जनताको आधुनिक सुरुङमार्गमा सवारी गुडाउने दशकौँ पुरानो सपनाले मूर्त रूप पाएको हो ।
नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको सञ्चालनले मुलुकलाई विधिवत रूपमा सुरुङ मार्गको युगमा प्रवेश गराएको छ । यातायात व्यवसायी तथा पूर्वाधार विज्ञहरूले यसलाई नेपाली सडक यातायात क्षेत्रको ठूलो उपलब्धिका रूपमा चित्रण गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नागढुङ्गा सुरुङमार्गको उद्घाटनप्रति खुशी व्यक्त गर्दै सरकारले देशभरका अन्य निर्माणाधीन सुरुङमार्गलाई पनि ‘फास्ट ट्रयाक’मा अघि बढाउनुपर्ने बताए । उनले यस आयोजनाले समयको वचत गर्नुका साथै नागढुङ्गाको कठिन सडक खण्डमा हुने सम्भावित दुर्घटनाको जोखिमलाई न्युन गर्ने विश्वास व्यक्त गरे ।
यद्यपि, सुरुङमार्ग प्रयोग गरेबापत सार्वजनिक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्कप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सुरुङमार्ग प्रयोग गर्ने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्क पुनर्विचार गर्न पनि सरकारलाई आग्रह गरे ।
उनले सुरुङमार्ग प्रयोग गर्ने सवारीको लागि तोकिएको शुल्क धेरै बढी भएको गुनासो आएको बताउँदै सुरुङमार्ग सञ्चालन खर्च र सार्वजनिक यातायात व्यवसाय दुवैलाई असर नपर्ने गरी शुल्क निर्धारण गर्न आग्रह गरे । उनले सरकारले देशभरका अन्य सुरुङमार्ग निर्माणको कार्य समेत तिब्र गतिमा अघि बढाउनुपर्ने बताए ।
उनले भने, “नागढुङ्गा सुरुङमार्गको उद्घाटन भएकोमा हामी खुशी छौँ । सरकारले यससँगै देशभरका अन्य निर्माणाधिन सुरुङमार्गहरुको निर्माण पनि फास्ट ट्र्याकमा गर्नुपर्छ । सरकारले यस्ता आयोजनालाई समयमै सम्पन्न गर्नतर्फ ध्यान दिनुपर्छ । आज यो सुरुङमार्ग उद्घाटन भएकोमा नेपाल यातायात राष्ट्रिय महासंघ र सार्वजनिक यातायात व्यवसायीको तर्फबाट म धन्यावाद पनि दिन चाहन्छु । तर सुरुङमार्गमा चल्ने सार्वजनिक यात्रुवाहक र मालवाहक सवारी साधनले तिर्नुपर्ने शुल्कबारे पुनर्विचार गर्न पनि म आग्रह गर्न चाहन्छु । महसुल अघि धेरै भयो भन्ने गुनासो सार्वजनिक यातायात क्षेत्रको आएको छ । यो सुरुङमार्ग धेरै ठूलो रकम खर्चिएर बनेको भन्ने हामीले सुनेका छौँ । तिर्नुपर्ने महशुल त तिर्नुपर्छ । सुरुङमार्ग सञ्चालन र सार्वजनिक यातायातलाई असर नपर्नेगरी आर्थिक कुराको व्यवस्थापन गर्न म सरकारलाई आग्रह गर्न चाहन्छु ।”
सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार सुरुङमार्ग हाल केही दिनका लागि परीक्षण (ट्रायल) को चरणमा रहनेछ । उनले सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि खुला नभएसम्म कुनैपनि शुल्क नलिइने स्पष्ट पारे । हाँले सुरुङमार्गको अन्तिम चरणको प्राविधिक परीक्षण (मक ड्रिल) बाँकी रहेको भन्दै केही दिनमै सबै प्रकारका सवारीको लागि सुरुङमार्ग सञ्चालन गरिने बताए । उनले सुरुङमार्गको आयु (डिजाइन लाइफ) एक सय वर्ष रहेको पनि बताए ।
उनले भने, “यो सुरुङमार्गको एक सय वर्षको डिजाइन लाइफ हुन्छ । यसलाई राम्रोसँग चलाउन सकियो भने यो डिजाइन लाइफसम्म टिक्छ । सुरुङमार्गमा अब हाम्रो थोरै काम गर्न बाँकी छ । हामीले अलिकति मक ड्रिल गर्नुपर्नेछ । त्यसपछि छिट्टै नै सुरुङमार्ग पूर्ण रुपबाट सञ्चालनमा आउँछ । हामीले सुरुङमार्गमा प्रवेश गर्ने र बाहिरिने सवारीको लागि पहिले नै शुल्कहरु तोकिसकेका छौँ । सुरुङमार्ग पूर्ण रुपबाट सञ्चालन नभएसम्म हामी शुल्क लिदैनौँ । अहिले ट्रायल फेज नै छ । पूर्ण रुपमा सञ्चालन भएपछि हामी पूर्वनिर्धारित रुपमा शुल्क लिन्छौँ ।”
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालको भौगोलिक जटिलताका कारण सुरक्षित र छिटो यात्राका लागि सुरुङमार्ग अपरिहार्य रहेको बताए । उनकाअनुसार चालू आर्थिक वर्षभित्रै निर्माणाधीन ९ सय मिटर लामो सिद्धबाबा सुरुङमार्ग पनि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
सुरुङमार्ग सञ्चालनको लागत र शुल्कबारे स्पष्ट पार्दै सचिव सिग्देलले सुरुङभित्र सुरक्षा, निगरानी र वायुको गुणस्तर कायम राख्न २४ सै घण्टा प्राविधिक जनशक्तिको उपस्थिति आवश्यक पर्ने भएकाले यसको सञ्चालन खर्च तुलनात्मक रूपमा बढी हुने बताए । तर भविष्यमा धेरै सुरुङमार्गहरू सञ्चालनमा आएपछि एउटै एकीकृत व्यवस्थापन प्रणालीमार्फत लागत घटाउन सकिने उनको भनाइ छ । हाल काठमाडौँ–तराई फास्ट ट्रयाकलगायत अन्य ६ वटा सुरुङमार्गको निर्माण कार्य पनि द्रुत गतिमा अघि बढिरहेको उनले जानकारी दिए ।
सडक विभागकाअनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ ।
यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाा बराबरको शुल्क तिर्नुपर्नेछ । सुरुङमार्गभित्र सुरक्षाका कारण मोटरसाइकल, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीसाधन र पैदलयात्रीलाई प्रवेश निषेध गरिएको छ। साथै, प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधनले पनि यस मार्गको प्रयोग गर्न पाउने छैनन् ।
वि.सं. २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास गरिएको यस आयोजनाको शुरुवाती लागत करिव २२ अर्ब रूपैयाँ अनुमान गरिएको थियो । यद्यपि, निर्माणका क्रममा आइपरेका भूगर्भीय समस्या, डिजाइनमा गरिएका परिमार्जन र अन्य प्राविधिक कारणले गर्दा यसको कुल लागत २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । खर्चको हिसावले चुनौतीपूर्ण देखिए पनि यस सुरुङमार्गले नेपालको आधुनिक पूर्वाधार विकासमा एक नयाँ मानक स्थापना गरेको छ ।


प्रतिक्रिया दिनुहोस्