काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति तीन दिनसम्म शोक मनाउने निर्णय गरेको हो ।
कांग्रेसले १३, १४ र १५ साउनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यस्तै, १४ साउनमा केन्द्र, प्रदेश र जिल्लास्थित सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थियो ।
विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय रहेका श्रेष्ठले पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै करिब ६ वर्ष जेल जीवनसमेत बिताएका थिए ।
उनी उपप्रधानमन्त्रीसम्म भएका थिए । श्रेष्ठ २०४८, २०५६ र २०६४ मा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए ।
श्रेष्ठ उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षा मन्त्री बनेका थिए ।
कांग्रेसले श्रेष्ठको निधनबाट पार्टीले एक अनुभवी र अग्रज राजनीतिज्ञ गुमाएको उल्लेख गर्दै संगठन निर्माण, लोकतन्त्रप्रतिको प्रतिबद्धता र सार्वजनिक जीवनमा उनले पुर्याएको योगदान सधैँ स्मरणीय रहने जनाएको छ ।
श्रेष्ठको सम्मानमा स्वर्गारोहणको १३ दिनसम्म पार्टीका कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औँ दिनमा उनको गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी शोकसभा आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्