काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सक्रियता बढाएका छन् ।
सुनसरीमा दुईसमूहबिचको झडपले अवस्था संवेदनशीलता बनेपछि लामिछानेले आफ्नो सक्रियता बढाएका हुन् ।
घटनाको दुईदिनसम्म पनि रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले पहल नगरेपछि सभापति लामिछानेले सर्वदलीय बैठकदेखि राष्ट्रपतिसँगको भेट एकैदिन गरेका छन् । पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन पनि रास्वपा सभापति लामिछाने नै पुगेका छन् ।
सुनसरीको कप्तानगञ्जमा दुईसमूहबिच सोमबार रातिदेखि झडप भएको थियो । अवस्था अझै साभ्य भएका छैन भने अन्य जिल्लामा समेत यसको प्रभाव देखिने जोखिम छ । यस्तो अवस्थामासमेत प्रधानमन्त्रीदेखि गृहमन्त्रीको कुनै सार्वजनिक धारणा आएको छैन ।

आज बिहान रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विभिन्न दलका नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेका छन् । यस्तो अवस्थामा समेत सरकारले अविभावकीय भूमिका निर्वाह गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका छन् ।
बैठकमा अर्थमन्त्री डा.स्वार्णिम वाग्ले सहभागि भए तर प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङको उपस्थिति थिएन । सर्वदलीय बैठकको छलफल, कांग्रेसका वरिष्ठ नेतासमेत रहेका र पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली दिन पुगेका सभापति लामिछानेले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
राष्ट्रपतिसँगको भेटमा सभापति लामिछानेले सुनसरी घटनाबारे सर्वदलीय बैठकमा भएको छलफलबारे जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक लगत्तै लामिछाने शीतल निवास पुगेका थिए । आजै पार्टीको केन्द्रीय समिति बैठकसमेत छ ।
पछिल्लो समय सरकार आलोचनाको घेरामा छ । सरकार बनेको ४ महिना पुग्दानपुग्दै चौतर्फी दबाब परिरहँदा प्रधानमन्त्री शाहले न राष्ट्रका नाममा सम्बोधन गरेका छन् न त संसदमा बोलेका छन् ।
सुनसरीको घटनापछि मध्यरातीमा फेसबुक ‘स्टाटस’ लेखेपछि थप आलोचना भइरहेको छ । नयाँ सरकार बनेपछि मौनजस्तै रहेका सभापति लामिछाने सुनसरी घटनापछि भने सक्रिय बनेको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्