नेप्से परिसूचक १०४ अंकले बढ्यो, अरुण भ्यालीको सर्वाधिक कारोबार


काठमाडौं । धेरै दिनपछि आज सेयरबजारमा हरियाली छाएको छ । भदौको अन्तिम दोस्रो सातापछि सेयरबजारमा निरन्तर गिरावट आएको थियो । आज नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सुचक नेप्से १०४ अंकले बढ्दा नेप्सेमा कारोबार भएका सबै उपसमुहहरुमा हरियाली छाएको छ ।

सेयर बजार भारी अंकले बढेपछि लगानीकर्ताहरु पनि उत्साहित बनेका छन् । राष्ट बैंकले मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा सीमा लगाएका कारण घटेको सेयर बजार फेरी बैंक तथा वित्तीय संस्थाहरुले निक्षपको व्याजदर बढाएसँगै चर्को अंकले गिरावट आएको थियो ।

धितोपत्र बोर्डको वार्ता सकारात्मक ढंगले बढेको समाचार बाहिरिनु र मुख्य गरी विभिन्न बैंकहरुले मुद्दति निक्षेपको ब्यादरमा वृद्धि गरीरहेका थिए त्यसलाई नियामक निकाय राष्ट्र बैंकको निर्देशन पछि संसोधन गरेका छन् जसको कारण बजारमा सकरात्मक प्रभाव परेको लगानीकर्ताहरु बताउँछन् ।

मापक नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ अंकमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १९.४७ अंकले बढेर ५२८.१० अंकमा पुगेको छ ।

आज पनि अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोड ३४ लाख रूपैयाँको कारोबार भएको हो ।

बुधबार १३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन घट्ने कम्पनीहरूमा जम्मा ४ वटा कम्पनी छन् । जसमध्ये, २ वटा डिबेञ्चर र २ वटा म्युचुअल फण्ड हुन् ।

कूल २१७ वटा कम्पनीको एक करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब १७ करोड ९३ लाख एक सय ५८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।