काठमाडाैँ । सुकुम्वासी व्यवस्थापनका क्रममा विभिन्न होल्डिङ सेन्टरहरूमा रहेका व्यक्तिहरूलाई रोजगारीका अवसरहरू उपलब्ध गराउने उद्देश्यले आज युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव, पूर्वाधार विकास मन्त्रालय,औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका प्रतिनिधि बिच बैठक बसेकाे छ।
बैठकमा भक्तपुरको खरिपाटी, बोडे तथा चाँगुनारायण, काठमाडौँको रानीवन र काभ्रेपलान्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुम्वासी सहभागीमा गरिएको रोजगारी तथा तालिम आवश्यकता मूल्याङ्कनको नतिजामाथि छलफल गरिएको हो।
मूल्याङ्कनबाट सरसफाइ, माली, साना व्यवसाय सञ्चालन, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङ लगायतका क्षेत्रमा रोजगारी गर्न इच्छुक रहेको पहिचान भएका व्यक्तिहरूलाई उपयुक्त रोजगारीका अवसरसँग आबद्ध गराउन पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत तालिम दिई रोजगारीका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउने निर्णय भएकाे छ।
छलफलमा मन्त्री रामजी यादवले सबै निकायबाट सुकुम्बासीहरुलाई रोजगारी प्रदान गर्न उच्च प्राथमिकता दिई पहल गरिनुपर्ने धारणा राखे ।
छलफलमा मन्त्रालयका सहसचिव हेमराज तामाङ, पूर्वाधार विकास मन्त्रालयका उपसचिव महेश बहादुर थिङ, सडक विभागका उपमहानिर्देशक श्याम बहादुर खड्का,औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका नि.का. निर्देशक मणिराम गौतम, अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका अध्यक्ष आनन्द भाट लगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्