सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी


काठमाडौँ । देशभर सञ्चालनमा रहेका सडक विस्तार तथा स्तरोन्नति आयोजनामा विद्युतका पोल समयमै स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको सडक विभागले जनाएको छ। विभागका अनुसार नेपाल विद्युत प्राधिकरणसँगको समन्वय अभाव र पोल सार्न हुने ढिलाइका कारण आयोजना सम्पन्न हुन नसक्दा राज्यले करोडौँ रुपैयाँको अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको छ।

संघीय संसद्अन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा विभागका महानिर्देशक डा. विजय जैसीले सडकको ‘राइट अफ वे’ भित्र पोल गाड्न सहजीकरण गरिए पनि सडक विस्तारका क्रममा ती पोल हटाउन विद्युत प्राधिकरणबाट अपेक्षित तदारुकता नदेखिएको बताए। उनका अनुसार पोल स्थानान्तरणमा हुने ढिलाइले निर्माण व्यवसायीले काम ढिला गर्ने आधार पाउने र त्यसबाट क्षतिपूर्तिसमेत दाबी गर्ने अवस्था सिर्जना भएको छ।

उनले नागढुङ्गा–मुग्लिङ सडक खण्डको उदाहरण दिँदै पाँच वर्षदेखि पोल सार्ने प्रयास भइरहे पनि अझै १८२ वटा पोल स्थानान्तरण हुन बाँकी रहेको जानकारी दिए। कतिपय स्थानमा पोल बीचमै राखेर सडक कालोपत्र गर्नुपर्ने बाध्यता समेत आएको उनको भनाइ छ।

महानिर्देशक जैसीले एउटै निर्माण व्यवसायीले धेरै आयोजना ठेक्का लिएर पर्याप्त जनशक्ति परिचालन नगर्ने प्रवृत्तिले पनि सडक निर्माणमा ढिलाइ भएको बताए। साथै, पोल गाड्ने तथा आवश्यक सामग्री व्यवस्थापनमा हुने ढिलाइले आयोजना प्रभावित भइरहेको उल्लेख गर्दै समस्या समाधानका लागि सडक विभाग र विद्युत प्राधिकरणबीच मन्त्रालयस्तरमा समन्वय भइरहेको जानकारी दिए।

उनका अनुसार नारायणघाट–बुटवल, मुग्लिङ–पोखरा र सूर्यविनायक–धुलिखेल सडकखण्डको निर्माण अन्तिम चरणमा पुगेको छ। पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर ब्रिज’ नेपाली प्राविधिककै डिजाइन र नेतृत्वमा ‘एक्स्ट्राडोज’ प्रविधिबाट निर्माण भइरहेको र काम सन्तोषजनक रूपमा अघि बढिरहेको उनले बताए।

सडक विस्तारमा हुने ढिलाइका कारण सर्वसाधारणले धुलो र हिलोको समस्या खेप्नुपरेको स्वीकार गर्दै उनले बाँकी अवरोध हटाएर आयोजनालाई तीव्र गतिमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।