काठमाडौं । फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको छ । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेकोे हो ।
काठमाडौंको सोल्टी होटलमा हुने उक्त सम्मेलन नेपाली स्टिल उद्योगको वर्तमान अवस्थाको सूक्ष्म र बृहत् मापन; स्टिल र सिमेन्ट उद्योगसँग सम्बन्धित प्रमुख सरकारी नीतिमाथि छलफल, स्पन्ज आइरनको भावी परिदृश्य, नेपाली सिमेन्ट उद्योगका लागि अवसर, गुणस्तरीय स्टिल उत्पादनको बढ्दो महत्व, स्टिल उद्योगले सामना गरिरहेका प्रमुख चुनौती, मार्जिन व्यवस्थापनका उपायका रुपमा गरिने ब्याकवार्ड इन्टेग्रेसन, नेपालमा कोइला आयातको अवस्था, चुनौती र अवसरमा केन्द्रित हुने जनाइएको छ ।
यसपटक नेपाल ट्रेड समिटको दोस्रो संस्करण हुन लागेको हो । स्टिलमिन्ट ग्रुपले यसअघि सन् २०१८ मा नेपाल ट्रेड समिट गरेको थियो । स्टिलमिन्ट ग्रुपले नेपाल भारत, बंगलादेश, युएई र थाइल्यान्डमा गरी झन्डै डेढ दर्जन सेमिनार र सम्मेलन गरिसकेको उल्लेख गरेको छ ।
समिटलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सिमेन्ट उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल उद्योग परिसंघको सहयोग रहेको छ ।

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्