शिवम् सिमेन्टको मुनाफा घट्यो, प्रति सेयर आम्दानी कति ?


काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा र सञ्चालन आम्दानी दुवैमा गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चौथो त्रैमाससम्ममा ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७२ प्रतिशतले घटेको हो। अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीले ७९ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.८७ प्रतिशतले घटेर ६ अर्ब ९२ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ रहेको थियो। अन्य आम्दानी पनि ३.०९ प्रतिशतले घटेर १३ करोड ३२ लाख रुपैयाँमा झरेको छ।

यता कम्पनीको कुल खर्च भने १३.२५ प्रतिशतले घटेर ८ करोड ८ लाख रुपैयाँमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ। खर्च घटे पनि सञ्चालन आम्दानीमा आएको गिरावटका कारण कम्पनीको नाफा बढ्न सकेन।

कम्पनीको चुक्ता पुँजी २.५० प्रतिशतले बढेर ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यस्तै, अन्य इक्विटी २.७७ प्रतिशतले बढेर ४ अर्ब ९६ करोड ४३ लाख रुपैयाँ पुगेको छ। सहायक कम्पनीमा रहेको लगानी पनि ८.२० प्रतिशतले बढेर ५१ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १४.०३ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो ईपीएस १४.६३ रुपैयाँ थियो। त्यस्तै, प्रतिशेयर नेटवर्थ १८८.७६ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १८८.५३ रुपैयाँको तुलनामा सामान्य वृद्धि हो।

कम्पनीको सेयर मूल्य ६२१ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात (पी/ई) ४४.२८ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।