काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनले गुनासो गरेका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरुले यस्तो गुनासो गरेका हुन । विपद्पछिको खोज तथा उद्धारमा सरकारले केही काम गरेपनि सुरुङ र पावरहाउसमा रहेका नागरिकको उद्धारमा उदासीनता देखाएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे ।
बाढीमा परि सम्पर्कविहीन भएका इन्जिनियर निरजबाबु रेग्मीका काका यमलाल रेग्मीले सरकारले सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले ६ दिनदेखि भतिज निरजको उद्धार गरिदिन भन्दै राज्यका निकायहरमा हारगुहार गर्दा समेत अपेक्षित सहयोग पाउन नसकेको बताए ।
उनले सरकारले जंगलमा रहेका तथा अन्य नागरिकको उद्धार गरेको भएपनि सुरुङ र पावरहाउसमा रहेका नागरिकको उद्धारमा प्रभावकारी काम गर्न नसकेको बताए । उनले बेल्चा लिएर गएर मात्र सुरुङ खोल्न नसकिने भन्दै विदेशको सहयोगमा भएपनि नागरिकको उद्धार प्रणाली प्रभावकारी बनाउन माग गरे।
नारायणी जोशीले आफ्ना श्रीमानसहित नेपाल विद्युत प्राधिकरणका ४० जना कर्मचारी त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनामा उद्धारको पर्खाइमा रहेको बताइन । उनले त्रिशूली थ्री ए को पावरहाउस अन्य पावरहाउसको तुलनामा सुरक्षित रहेको जानकारी पाएपछि परिवारजन उनीहरू जीवितै रहेको आशामा उद्धारको प्रतीक्षा गरिरहेको बताइन।
उनले उद्धारको पखाईमा रहेका नागरिकको उद्धारमा सरकारले तदारुकता नदेखाएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् । उनले एकदुई जना नभई सुरुङ र पावरहाउसमा सयौँ नागरिक फसेपनि सरकारले यस्तो जटिल स्थितिलाई समेत हलुका रुपमा लिएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।
सम्पर्कविहीन भएका नागरिकका आफन्तले उद्धारमा सरकारको सक्रियता पर्याप्त नभएकै कारण बाढी आएको ६ दिन बितिसक्दा पनि आफन्तहरू सम्पर्कमा नआएको भन्दै आक्रोश समेत व्यक्त गरे । न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्