काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २५ अर्ब रुपैयाँ नाघेको छ।
बीमा प्राधिकरणका अनुसार २०८३ भदौ १० गते आएको बाढीका कारण भदौ १५ गतेसम्म ५८३ वटा बीमित घटनाबाट २५ अर्ब ७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक तथा अनुमानित दाबी परेको छ।
कम्पनीगत रूपमा सबैभन्दा ठूलो दाबी दि ओरियन्टल इन्स्योरेन्समा परेको छ। उक्त कम्पनीमा मात्रै १३ अर्ब ४ करोड २१ लाख रुपैयाँ बराबरको दाबी परेको छ। यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड ४८ लाख र सानिमा जीआईसी इन्स्योरेन्समा २ अर्ब १० करोड २८ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
बीमालेखअनुसार सबैभन्दा ठूलो क्षति इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा देखिएको छ। यसअन्तर्गत ५२ वटा दाबीबाट मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपैयाँभन्दा बढीको अनुमानित दाबी परेको छ।
यस्तै, सम्पत्ति बीमामा २ अर्ब ३४ करोड ६२ लाख, मोटर बीमामा १ अर्ब ५५ करोड ९ लाख र परिवहन बीमामा ८९ करोड ७७ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।
बाढीबाट उद्योग, व्यवसाय, सवारीसाधन तथा निर्माण आयोजनामा ठूलो क्षति पुगेको छ। बीमा कम्पनीहरूले क्षति सर्वेक्षण तथा दाबी मूल्यांकनलाई तीव्र बनाइरहेकाले अन्तिम दाबी रकम प्रारम्भिक अनुमानभन्दा फरक हुन सक्ने प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्