‘सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूमाथि राज्यले पशुवत व्यवहार गर्‍यो’


काठमाडाैँ । भोटेकोशीमा आएको बाढीका कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै आफन्तहरुले दबाबमूलक अभियान चलाएका छन् ।

मंगलबार सम्पर्कविहीन भएका प्राविधिक तथा कर्मचारीका आफन्तहरुले आयोजनाको निर्माण कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीमा गएर यथाशिघ्र उद्धार गर्न दबाब दिएका छन् ।

काँकडभिट्टाका कृष्ण खरेलले बाढी गएको सातौँ दिनपछि बल्ल उद्धार कार्य शुरु गरिएको भन्दै आक्रोश व्यक्त गरे । उनले आयोजनामा फसेका नागरिकमाथि राज्य र निर्माण कम्पनीले पशुवत् व्यवहार गरेको आरोप पनि लगाए । आयोजनाको कार्यालय बाढीले बगाएकाले सम्पर्कविहीन भएका कर्मचारीको यकिन तथ्यांक नरहेको जानकारी दिँदै निर्माण कम्पनीले संवेदनहीन व्यवहार गरेको उनको भनाइ छ ।

खरेलले आफन्तको खोजी आफैँ गर्न खोज्दा सरकारले अनुमति नदिएको र सरकार स्वयंले समेत उद्धार नगरेको बताए । उनले उद्धारका लागि हेलिकप्टर उपलब्ध नभएको जानकारी पाएपछि पीडितहरुले सोमवार साँझ कम्पनीको कार्यालयमा तोडफोड गर्नुपरेको पनि बताए । उनले बाढीपछि ४३ जना आयोजनाको सुरुङमा रहेको जानकारी आफूले प्राप्त गरेको समेत उल्लेख गरे । 

सरकारले मंगलवार मात्र जलविद्युत निर्माण कम्पनीहरुलाई उद्धारको अनुमति दिएको छ । रसुवा, नुवाकोट र धादिङमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा टनेलभित्र अझै झण्डै ९ सय जना उद्धारको पर्खाइमा छन् ।