काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घ (एक्यान) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी सङ्गठनले भोटेकोशी बाढीप्रभावित नागरिकहरूको सहयोगका लागि राहत सङ्कलन तथा वितरण अभियान सुरु गरेका छन् ।
एक्यानले विज्ञप्ति जारी गर्दै विपद्बाट प्रभावित नागरिकप्रति गहिरो दुःख, सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गर्दै तत्काल राहत उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले एक्यानको आयोजनामा तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी सङ्गठनको समन्वयमा राहत सामग्री सङ्कलन तथा वितरण अभियान सञ्चालन गरिएको छ । सङ्कलित राहत सामग्री आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित परिवार तथा क्षेत्रमा पु¥याइनेछ ।”
राहत सामग्री एक्यानको बबरमहलस्थित प्रधान कार्यालय तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी सङ्गठनको बिजुलीबजारस्थित प्रधान कार्यालयमा उपलब्ध गराउन सकिनेछ । साथै राहत सङ्कलन तथा वितरणका लागि चार्टर्ड एकाउन्टेन्ट समुदाय, शैक्षिक संस्थाहरू, लेखापरीक्षण तथा परामर्श फर्महरू, पेशाकर्मी तथा विद्यार्थीहरूलाई सक्रिय सहभागिताको आह्वान गरिएको ।
विज्ञप्तिमा थप भनिएको छ, “हामीले आज गरेको सानो सहयोग कसैका लागि ठुलो राहत बन्न सक्छ । हाम्रो एक प्याकेट खाद्यान्न, एक जोर कपडा वा एक थान औषधिले विपत्तिमा परेका परिवारलाई कठिन घडीमा आवश्यक साथ र भरोसा दिन सक्छ ।”
विपद्को कठिन समयमा सबै सरोकारवालालाई हातेमालो गरी राहत अभियानमा सहभागी हुन आग्रह गर्दै प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत तथा पुनस्र्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्