शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिए भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी


काठमाडौँ । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीमा परी उद्धार गरिएका तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थाबारे जानकारी लिएका छन् ।

सञ्चारमन्त्री तिमिल्सिना शुक्रबार दिउँसो शिक्षण अस्पताल पुगेर बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारका लागि गरिएको प्रबन्ध तथा अस्पतालको समग्र व्यवस्थापनबारे अस्पतालका अधिकारीहरूसँग जानकारी लिएका हुन् ।

उनले उपचाररत व्यक्तिहरूसँग प्रत्यक्ष भेट गरी उनीहरूको स्वास्थ्य अवस्था, उपचारका क्रममा कुनै समस्या भएनभएकोलगायत अस्पतालबाट प्राप्त भइरहेको स्वास्थ्य सेवाबारे समेत जानकारी लिएका हुन् ।

अस्पतालका अनुसार भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि त्यहाँ ल्याइएका ७८ जनामध्ये शुक्रबार बिहान ९ बजेसम्म २९ जना उपचाररत छन् । उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएका अन्य व्यक्तिहरूलाई अस्पतालले डिस्चार्ज गरिसकेको जनाएको छ ।

अस्पतालका अधिकारीहरूले बाढीपीडितहरूको उपचारमा हालसम्म कुनै समस्या नरहेको र उपचाररत व्यक्तिहरूले अस्पतालबाट सहज रूपमा स्वास्थ्य सेवा पाइरहेको जानकारी मन्त्री तिमिल्सिनालाई गराएका हुन्।

सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को समयमा घाइते तथा प्रभावित नागरिकको उपचार र आवश्यक स्वास्थ्य सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र व्यवस्थापन गर्न आग्रह गरे ।

उपचारका क्रममा कुनै समस्या देखिएमा वा थप स्वास्थ्य सेवा, उपचार सामग्री तथा अन्य व्यवस्थापन आवश्यक परेमा सरकारले राज्यस्तरबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट उद्धार गरिएका घाइते तथा प्रभावितलाई काठमाडौँ ल्याई विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारको निरन्तरता तथा आवश्यक व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ ।