अमेरिकी आर्थिक दबाबले नीतिगत निर्णय परिवर्तन नगरिने इरानको भनाइ


काठमाडौँ । इरानका अर्थमन्त्री अली मदानी–जादेहले अमेरिकी आर्थिक दबाबमार्फत इरानका नीतिगत तथा शासकीय निर्णयहरू परिवर्तन गर्न सकिन्छ भन्ने धारणा ‘गलत’ भएको बताएका छन् । उनले भनेका छन्,“इरानको अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी अमेरिकी ट्रेजरी विभागको होइन, इरानी सरकार र इरानी जनताको हो ।”

अमेरिकाको नयाँ आर्थिक प्रतिबन्ध अभियानप्रति इरानको यस्तो प्रतिक्रिया आएको हो । मदानी–जादेहका अनुसार पश्चिमी प्रतिबन्धहरूका कारण इरानका लाखौँ कामदार तथा नागरिकहरूले आर्थिक रूपमा बाँच्न र काम गर्न नयाँ उपायहरू अपनाएका छन् । उनले आयात, निर्यात तथा उत्पादन गतिविधिहरू सामान्य रूपमा जारी रहेको पनि दाबी गरे।

उनले भनेका छन् कि इरानको अर्थतन्त्र ‘इरानी जनताको जीवन र कल्याणका लागि’ सञ्चालन गरिन्छ र यसको दिशा अमेरिकी सरकारले निर्धारण गर्न सक्दैन ।

इरानले अमेरिकी प्रतिबन्ध र आर्थिक दबाबका बावजुद आफ्नो आर्थिक तथा नीतिगत निर्णयहरू स्वतन्त्र रूपमा लिने अडान दोहोर्‍याएको हो ।
हालै अमेरिका र इरानबिच तनाव अझ बढेको छ ।

अमेरिकाले इरानको तेल व्यापार, वित्तीय नेटवर्क, ढुवानी लगायतका क्षेत्रमा नयाँ आर्थिक प्रतिबन्ध र दबाब अभियान चलाएको छ । दुबै मुलुक अहिले युद्धमा छन् । सहमतिको प्रयास जारी रहे पनि सफल हुन सकेको छैन । पछिल्लो समय दुईमुलुकबिच तनाव झन बढ्दो छ ।