डिशहोमद्वारा युटेलस्याटसँगको सहकार्यमा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा


काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिशहोमले युटेलस्याटसँगको सहकार्यमा निःशुल्क वनवेब स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याटसँगको सहकार्यमा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा निःशुल्क वनवेब स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त सेवा भदौ २० देखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको डिशहोमले जनाएको छ ।

प्राकृतिक विपद्का समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत तथा समन्वयका लागि अत्यावश्यक हुने भएकाले यस पहलअन्तर्गत हाल प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ ।

युटेलस्याट वनवेबको लो–अर्थ अर्बिट स्याटेलाइट प्रविधि मार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्नेछ ।

यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा मानवीय सहायता एवं राहत कार्यमा संलग्न विभिन्न सरोकारवालाबीच सूचना आदान–प्रदान, वास्तविक समयको समन्वय तथा आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा भरपर्दो वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु प्रमुख प्राथमिकता भएको कम्पनीले जनाएको छ ।

यस्तो कठिन परिस्थितिमा सरकारी निकाय, सुरक्षा तथा उद्धारकर्मी र प्रभावित समुदायलाई आवश्यक सञ्चार सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको समेत कम्पनीले उल्लेख गरेको छ ।