हुलाक सेवा सुधार्न बजेट, जनशक्ति र प्रविधि आवश्यक : महानिर्देशक पंगेनी


काठमाडौं । हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवाको प्रभावकारिता बढाउन पर्याप्त बजेट, दक्ष जनशक्ति र प्रविधिमा लगानी आवश्यक रहेको बताएकी छन्।

विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले सीमित स्रोतसाधनका कारण सेवा सुधारमा चुनौती रहेको बताइन्। उनकाअनुसार कर्णाली प्रदेशमा डाँक ढुवानीको बजेट ६० प्रतिशतले घटेको छ। यातायात व्यवसायीको सहयोग तथा उपलब्ध सवारीसाधनको साझा प्रयोगबाट ढुवानी व्यवस्थापन गर्ने प्रयास भइरहेको उनले जानकारी दिइन्।

पंगेनीले बदलिँदो आवश्यकताअनुसार हुलाक सेवामा सूचना प्रविधिसम्बन्धी छुट्टै शाखा स्थापना गर्नुपर्नेमा जोड दिइन्। अन्तर्राष्ट्रिय हुलाक प्रणालीमा हुने परिवर्तनअनुसार सेवा अद्यावधिक गर्न र विभिन्न सफ्टवेयर सञ्चालन गर्न कर्मचारीलाई नियमित प्रविधिमैत्री तालिम आवश्यक रहेको उनको भनाइ छ।

उनले सीमित स्रोतसाधनका बाबजुद हुलाक सेवामा सुधारका प्रयास भइरहेको उल्लेख गर्दै स्थानीय तहको सहयोगमा कार्यालयहरूमा कम्प्युटरलगायत उपकरणको व्यवस्था गर्न थालिएको बताए।