काठमाडौँ । अमेरिका र इरानबिचको तनाव जारी रहँदा विश्वबजारमा तेलको मूल्य बढेको छ । विश्व बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य १.५७ डलर अर्थात् १.६ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ९९.४९ अमेरिकी डलर पुगेको छ ।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको मूल्य पनि १.६० डलर अर्थात् १.७२ प्रतिशतले बढेर प्रति ब्यारेल ९४.६३ अमेरिकी डलर मा कारोबार भएको छ ।
अमेरिका र इरानबीचको द्वन्द्व अझ चर्किंदै जाँदा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य सम्पत्तिहरूमाथि नयाँ आक्रमण गरेपछि तेल बजारमा आपूर्ति अवरोध हुने चिन्ता बढेको छ । यही कारणले तेलको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको हो अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
ब्रेन्ट कच्चा तेलको मूल्य अगस्ट महिनाको सुरुदेखि नै करिब २५ प्रतिशतले बढिसकेको छ । छ महिनादेखि जारी युद्धको स्थायी समाधान हुने आशा कमजोर बन्दै जानुका साथै विभिन्न क्षेत्रमा पुनः लडाइँ चर्किनुले पनि तेलको मूल्यलाई थप माथि धकेलेको विश्लेषकहरूको भनाइ छ ।
तेलको मूल्य यसरी बढिरहेमा निकट भविष्यमा प्रति ब्यारेल १०० अमेरिकी डलरको पार गर्न सक्ने सम्भावना देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्