धनकुटामा १२४० किलो गाँजासहित ट्रक बरामद


काठमाडौँ । धनकुटामा १ हजार २४० किलो ६ सय ग्राम लागूऔषध गाँजासहित ट्रक बरामद गरिएको छ। साँगुरीगढी गाउँपालिका–७ फेदीबाट उक्त परिमाणको गाँजासहित ना.४ ख ५२७ नम्बरको ट्रक बरामद गरिएको हो।

कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ट्रकलाई चेकजाँचका लागि रोक्न खोजेको थियो।

प्रहरीका अनुसार टोलीले ट्रक रोक्न खोजेपछि चालक ट्रकबाट हाम फालेर फरार भएका थिए। ट्रक शंकास्पद लागेपछि चेकजाँच गर्दा लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो।

प्रहरीले ट्रक र बरामद गाँजा नियन्त्रणमा लिएको छ। फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।