कतारमा अन्तर्राष्ट्रिय बाज तथा सिकार प्रदर्शनी


काठमाडाैँ । कुनै समय अरबको तातो बालुवामा छाक टार्न र सिकार गर्न बाज पालिन्थ्यो । पुर्खाको त्यो बाध्यता आज समयक्रमसँगै अरब जगतको सबैभन्दा महँगो सौख र प्रतिष्ठाको प्रतीक बनिसकेको छ।

तिनै बाजहरूको शाही रवाफ, मरुभूमिको पुरानो विरासत र आधुनिक प्रविधिलाई एउटै छानामुनि जोड्दै कतारको राजधानी दोहामा १० औँ अन्तर्राष्ट्रिय सिकार तथा बाज प्रदर्शनी ‘सहैल २०२६’ सुरु भएको छ।

कतारा कल्चरल भिलेजमा मंगलबारदेखि सुरु भएको यस मेलामा विश्वका १५ मुलुकका १५८ भन्दा बढी कम्पनी र व्यावसायिक फर्महरू सहभागी छन्।

आगामी सेप्टेम्बर १२ सम्म चल्ने प्रदर्शनीमा करोडौँ मूल्यका सिकारी बाजहरूदेखि लिएर मरुभूमिमा गुड्ने अत्याधुनिक अफ-रोड गाडी र सिकारका उपकरणहरू प्रदर्शनमा राखिएका छन्।

प्रदर्शनी कक्षभित्र पस्नासाथ काठको स्ट्यान्डमा शानका साथ पखेटा फिँजाएर बसेका विभिन्न प्रजातिका बाजहरू देखिन्छन्, जसको चालढाल र तीक्ष्ण नजरलाई अवलोकनकर्ताहरू निकै चाखपूर्वक नियालिरहेका छन्।

त्यहाँबाट केही कदम पर पुग्दा परम्परागत छालाका सामान सिलाउने पुराना कालिगडहरूको सीप र बाजको गति पछ्याउने अत्याधुनिक जीपीएस ट्र्याकिङ प्रविधि एकसाथ देख्न पाइन्छ।

हिजो खाना जुटाउन सिकार गर्ने बाज आज महँगा दौड, सिकार प्रतिस्पर्धा र सौन्दर्य प्रतियोगिताका ‘स्टार’ बनेका छन्। बाजप्रतिको यही लगावले खाडी क्षेत्रमा एउटा छुट्टै र ठूलो आर्थिक बजार जन्माएको छ।

प्रदर्शनीमा बाजको स्वास्थ्य जाँच गर्ने विशिष्टीकृत क्लिनिक, कृत्रिम प्रजनन (ब्रिडिङ) फार्मदेखि मरुभूमिको सफारीमा प्रयोग हुने अत्याधुनिक गाडी परिमार्जन गर्नेसम्मका व्यवसायीहरू जुटेका छन्।

बाजपालन अब संस्कृतिमा मात्र सीमित छैन; यो हतियार, छाला उद्योग र ठूला इभेन्ट म्यानेजमेन्टसँग जोडिएको नाफामूलक उद्योग बनिसकेको छ।

आफ्नो पुर्खाको विरासतलाई नयाँ पुस्ता र प्रविधिसँग जोड्नु नै यस प्रदर्शनीको मुख्य ध्येय भएको आयोजकको भनाइ छ। कताराका महानिर्देशक एवं आयोजक समितिका अध्यक्ष खालिद बिन इब्राहिम अल सुलतीका शब्दमा,  “हामी हाम्रो इतिहासलाई केवल सम्झनामा थन्क्याएर राख्न चाहँदैनौँ। हाम्रो चाहना यो मौलिक परम्परा वर्तमान र भविष्यमा पनि उत्तिकै गर्वका साथ बाँचिरहोस् भन्ने हो।”