काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् ।
।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखिएको टिप्पणी गरे।
प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान जान नसकेको उनको भनाइ छ।
दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाले बताए।
सरकार आफैंले उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि बढाउनुपर्ने उनको जोड छ। सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण निर्माण गर्नुपर्ने पनि उनले बता
‘प्राइममिनिस्टरले कतातिर जाने भन्ने निर्णय गर्ने हो। कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो। अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन। मेरो बुझाइमा उहाँ निजी क्षेत्रलाई घृणा गर्नुहुन्छ,’ थापाले भने।
प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूलाई आधार बनाएर आफूले यस्तो धारणा राखेको उनले स्पष्ट पारे।
सरकारी उद्योग सञ्चालनको विषयमा भने आफू विरोधी नरहेको थापाको भनाइ छ। दुग्ध विकास संस्थान, हेटौँडा कारखाना र नेपाल औषधि लिमिटेडलगायत उद्योग सञ्चालनमा आएर मुनाफा कमाऊन् भन्ने आफ्नो शुभेच्छा रहेको उनले बताए।
तर, राज्य सञ्चालन गर्नेले सरकारी उद्योग सञ्चालनको विषयलाई मात्र नभई समग्र अर्थतन्त्रको अवस्था र त्यसको दिशाबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्ने उनको भनाइ छ।
सभापति थापाले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गरे।
त्यतिबेला सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए नेपालको आर्थिक विकासको आधार निर्माण हुन नसक्ने दाबी गर्दै थापाले अहिलेको सरकारले पनि निजी क्षेत्रको भूमिकालाई स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने बताए।
प्रधानमन्त्रीले कुन आर्थिक बाटो रोज्छन् भन्ने कुराले मुलुकको अर्थतन्त्र र समग्र विकासको दिशा निर्धारण गर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्