ढुवानीकै कारण आपूर्ति अवरुद्ध हुन नदिने ढुवानी व्यवसायी महासङ्घको प्रतिबद्धता,विकल्पकाे प्रस्ताव


काठमाडौँ । ढुवानी व्यवसायी महासङ्घ, नेपालले ग्याससहित अत्यावश्यक वस्तुको आपूर्तिमा ढुवानीका कारण कुनै समस्या उत्पन्न भए आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ ।

कृष्णभीरमा गएको पहिरोका कारण सडक अवरुद्ध भई काठमाडौँ उपत्यका तथा आसपासका जिल्लाको आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम कायमै रहेका बेला महासङ्घले ढुवानीकै कारण समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरेको हो ।

महासङ्घले हाल भोटेकोशी बाढीप्रभावितका लागि निःशुल्क ढुवानी सेवा पनि उपलब्ध गराइरहेको छ । यस विषयमा महासङ्घको नेतृत्वले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समेत जानकारी गराइसकेको जनाएको छ ।

महासङ्घका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले ग्यास अभावको विषयमा आएका केही सूचनाले समस्या आपूर्तिको नभई ढुवानी व्यवस्थापनसँग सम्बन्धित रहेको देखाएको बताए ।

टक्सार न्युजसँग कुरा गर्दै उनले भने, “मैले केही उद्योगीसँग कुरा गर्दा ग्यासको अभाव नभई ढुवानी व्यवस्थापनमा समस्या रहेको जानकारी पाएँ । ग्यासमात्र होइन, अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा पनि समस्या देखिए हामी सहयोग गर्न तयार छौँ । ढुवानी व्यवस्थापनमा सरकारलाई हरसम्भव सहयोग गर्ने हाम्रो प्रतिबद्धता छ ।”

कृष्णभीरमा काठमाडौँ जोड्ने सडक अवरुद्ध भएपछि बाहिरी जिल्लामा ग्यास सिलिन्डर भरेर वैकल्पिक मार्गमार्फत काठमाडौँ उपत्यकामा भित्र्याउने व्यवस्था गरिएको छ । मागअनुसार ग्यास भित्रिएको दाबी गरिए पनि बजारमा अभावको अवस्था भने अझै कायम रहेको छ।

महासङ्घको प्रस्ताव

आपूर्तिमा अवरोधकै कारण ग्यास अभाव भएको अवस्थामा वैकल्पिक मार्ग प्रयोग गरी शनिबार र आइतबारकाे विदाकाे समयमा पूर्णरूपमा ग्यास ढुवानीलाई प्राथमिकता दिन सकिने महासङ्घले प्रस्ताव गरेको छ । यसका लागि आफ्नो मातहतका सम्पूर्ण ढुवानी साधन परिचालन गर्न महासङ्घ तयार रहेको जनाएको छ ।

उपाध्यक्ष श्रेष्ठले भने, “सरकारले हामीसँग समन्वय गरी शनिबार र आइतबार वैकल्पिक मार्गबाट ग्यास र अत्यावश्यकीय वस्तुमात्र ढुवानी गर्ने व्यवस्था मिलाए आवश्यक सबै सहयोग गर्न सक्छौँ ।”

उनका अनुसार ग्यासमात्र नभई अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा पनि समस्या देखिए सरकारले ढुवानी व्यवसायीसँग समन्वय गरेर कार्ययोजना बनाउनुपर्ने आवश्यकता छ । उनले भने, “यदि समस्या ढुवानीकै कारण हो भने हामी सहयाेग गर्छाैँ तर त्यसका लागि राज्यले आवश्यक समन्वय गर्नुपर्छ । ”

भोटेकोशी बाढी र कृष्णभीर सडक अवरोधका कारण काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति शृङ्खला प्रभावित हुने चिन्ता कायमै छ । तर महासङ्घले वैकल्पिक सडक सञ्जाल सञ्चालनमा रहेसम्म इमान्दारितापूर्वक आपूर्ति व्यवस्थापनमा सहयोग गर्ने स्पष्ट पारेको छ ।

श्रेष्ठले भने, “आवश्यकताको प्राथमिकता निर्धारण गरौँ। ढुवानीका कारण समस्या उत्पन्न हुन हामी दिँदैनौँ। यसका लागि हामी सधैँ तयार छौँ।”
महासङ्घले सहकार्य गर्न सकिने विषयमा अनौपचारिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराइसकेको छ । साथै, ढुवानी क्षेत्रसँग सम्बन्धित अन्य व्यावसायिक संस्थासँगसमेत छलफल अघि बढाएको जनाएको छ ।

उपाध्यक्ष श्रेष्ठले भने, “ढुवानी व्यवस्थापनका लागि आवश्यक संरचना तयार छ । त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्न सरकार तयार हुनुपर्छ ।

देखिएको समस्या समाधान गर्न सबै पक्ष मिलेर काम गर्न आवश्यक छ र हामी त्यसका लागि पूर्ण रूपमा सहयोग गर्न तयार छौँ ।”
महासङ्घले आवश्यक परे ढुवानी व्यवस्थापनका अन्य विकल्पबारे पनि सरकार तथा सरोकारवालासँग थप छलफल गर्न तयार रहेको जनाएको छ।