काठमाडाैँ । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधि देखेर जनता निराश भएको बताएका छन् ।
शुक्रबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनता भोट फिर्ता गर्ने मनस्थितिमा पुगिसकेको दाबी गरेका हुन् ।
उनले सरकार बनेको ६ महिना नपुग्दै जनतामा निराशा उत्पन्न भएको बताए । अन्तर्राष्ट्रिय शक्तिहरूले सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोग गरेर नयाँ पुस्तामा भ्रम सिर्जना गरि वर्तमान सरकार निर्माण गरिएको दाबी गरे ।
सुशिला कार्की नेतृत्वको अन्तरिम तथा वर्तमान सरकारका गतिविधिका कारण जनताले आफ्नो निर्णय गलत भएको महसुस गर्न थालेको उनको भनाइ छ ।
जनतामा अहिले उक्त ‘जनादेश फिर्ता गर्नुपर्ने’ मनोविज्ञान विकास भएको उनले बताए । उनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्थापना सम्बन्धी मुद्दा विचाराधीन रहेकोले संसद् पुनस्थापना गरेर गलत अभ्यास सच्याउनपर्ने उनकाे भनाइ छ । एमालेले यही विषय आगामी केन्द्रीय कमिटी बैठकमा छलफलको एजेन्डा बनाउने उनको दाबी छ ।
उनले भने, “पछिल्लो एक वर्षको अन्तरिम र वर्तमान सरकारका कारणले जनताहरुले आफ्नो निर्णय गलत भयो भनेर पछुताउ गरेको र अहिले निर्वाचन हुने सच्चिने ठाउँमा पुगिसक्नुभएको छ । सरकारले जुन खालको गलत हर्कत गरिरहेको छ । आम जनता त्यो जनादेश फिर्ता गर्नुपर्छ भन्ने मनोविज्ञान भोगिरहेको र अहिले हुने भए त्यो जनादेश फिर्ता गर्नुपर्छ भन्ने मनस्थितिमा पुगेको बेलामा जनताको आन्दोलनको बलबाट सर्वोच्च अदालतमा भएको विचाराधीन मुद्दाबाट संसद पुनर्गठन हुने एउटा परिवेश सिर्जना हुने अवस्थामा छ । यसले त्यतिखेरको निर्वाचनमा गरिएका गलत अभ्यासहरु सच्चिने ठाउँमा पुग्छन् । आगामी केन्द्रीय कमिटीको बैठकमा यो विषय छलफल हुन्छ । त्यसलाई हामी छलफलको एजेन्डा बनाउँछौँ ।”
उनले पार्टी संगठनभित्रका कमजोरीलाई सुधार गरी जनतामा फैलिएका भ्रम चिर्नेगरि एमालेलाई सशक्त बनाएर लैजाने बताए । जनतासँगको सम्बन्ध थप बलियो बनाउँदै उनीहरूका मुद्दामा नियमित अन्तक्र्रिया र छलफल गर्ने तथा सामाजिक न्याय र समाजसेवाका काममा पार्टीलाई केन्द्रित गर्ने उनको भनाइ छ ।
उनले पार्टीको समीक्षा तथा पुनर्गठनका लागि गठित कार्यदल पार्टी अध्यक्षलाई हटाउन गठन गरिएको भन्ने गलत प्रचार भईरहेको पनि बताए । कार्यदललाई निर्वाचनको समीक्षा तथा बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी कसरी अघि बढ्ने भन्ने विषयसँगै पार्टी पुनर्गठनको जिम्मेवारी दिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्