काठमाडौँ । नेपाल तिलगंगा आँखा प्रतिष्ठानभित्र आर्थिक अपचलन भएको भन्दै संसदीय समितिमा उजुरी परेको छ ।
गैरसरकारी संस्थाका रूपमा सञ्चालनमा रहेको प्रतिष्ठान मातहतमा भइरहेका कार्यक्रममा आर्थिक अनियमिता भएको र कर्मचारीहरूमाथि श्रम शोषण भएको भन्दै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी परेको हो ।
उजुरीमा भनिएको छ,“समितिले वर्षौदेखि सामाजिक सेवा र कामका नाममा भइरहेका आर्थिक अपचलनका विषयमा छानविन गरी दोषी उपर कारबाही गरि सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने विश्वाससहित हामीले यो निवेदन पेश गरेका छौँ ।”
उजुरीमा तिलगंगा आँखा कार्यक्रम, अन्धोपन निवारण संघ, आई बैंक र शिक्षण कार्यक्रममा हुने गरेको आम्दानी सबै तिलगंगा होल्डिङ् नामको निजी कम्पनी खडा गरी सो कम्पनीमा लगेर झुट्टा कागजात खडा गरी वार्षिक करोडौँ रुपैयाँ अपचलन गर्ने काम भइरहेको आरोप लगाइएको गरिएको छ ।
विभिन्न विदेशी संस्था,नेपाल सरकार र सरकार मातहत रहेका निकायबाट तिलगंगा आँखा कार्यक्रमसँग जोडिएका गैरसरकारी संस्थाका नाफामूलक कारोबारलाई तिलगंगा होल्डिङ् नामको निजी कम्पनीमा लगेर सञ्चालक तथा व्यवस्थापन पक्षका उच्च तहमा रहेका सदस्यले आर्थिक अपलचन गर्ने गरेको उजुरीमा उल्लेख छ ।
उजुरीकर्ताले दाबी गरेजस्तो होल्डिङ कम्पनी दर्ता भएकाे देखिन्छ । आन्तरिक राजस्व कार्यालय बत्तीसपुतली मातहत रहेको छ । नेपाल आँखा कार्यक्रम ठुला करदाता कार्यालयमा रहेको छ ।
संस्थालाई तेज कोली पाउन्डेसन बेलायत, भिजन तिब्बत(नयाँ नाम भिजन हिमालयन स्विट्जरल्याण्न्ड) कियार ब्लाइन्डनेस अमेरिका, कोलि एन्ड रुइत फाउन्सेनसन नेपाल, न्युज भिजन सिंगापुर, अप्रेसन रिजाईस सिंगापुर, आनन्द संघ नेपाल फुलारी गुम्बा, सेतो गुम्बा रामकोट, कपन गुम्बा, प्रेड हेलोज अष्ट्रेलियका साथै विभिन्न देशका सरकारले दूतावासमार्फत सहयाग गर्ने उजुरीमा उल्लेख छ ।
शङ्खास्पद गतिविधि
तिलगंगा आँखा अस्पतालको नेतृत्व डा. सन्दुक रुइतले नेतृत्व गर्दै आएका छन् । यसमा व्यवसायी सुहृद घिमिरे अस्पतालको अध्यक्ष छन् ।
तिलगंगा आँखा अस्पताललाई टेकेर तेस्रो मुलुकको सहयोग लिएर डा. रुइतले तिब्बतमा निरन्तर आखा शिविर सञ्चालन गरेको देखिन्छ । सन् १९९१ देखि सन् २०१२ सम्म तिब्बतका विभिान्न क्षेत्रमा निरन्तर आँखा शिविर र २०१६ सम्म जनशक्ति आदातप्रदानसम्मको गतिविधि देखिन्छ ।
अष्ट्रेलिया दूतावासको सहयोग रहेको शिविरमा पछि अमेरिका तथा युरोपियनको सहयोग देखिन्छ । स्वतन्त्र तिब्बत पक्षधरको सहयोग लिएर तिलगंगा आँखा अस्पताललाई टेकेर तिब्बतमा निरन्तर ‘सिभिलाइजेसन’ गतिविधि भएको देखिन्छ ।
प्राप्त तथ्याङ्क अनुसार तिब्बतका विभिन्न क्षेत्रमा दर्जनौँ शिविर कार्यक्रम भएको देखिन्छ । पछि यो कार्यक्रम चीनले नै रोकेको अस्पताल स्रोतको दाबी छ । तेस्रो मुलुकको सहयोगमा चीनसँग सिमा जोडिएका जिल्ला र चीनले संवेदनशील मान्ने भारतका विभिन्न ठाउँमा आँखा शिविर सञ्चालन भइरहेको पनि तथ्याङ्कले देखाउँछ । नेपालकै संवेदनशील स्थान गुम्बाहरूमा निरन्तर आँखा शिविर सञ्चालन भएको टक्सारन्युजलाई प्राप्त विवरणमा उल्लेख छ।
यो समूहले नेपालबाट टर्कीमा धुप बत्तिसमेत निर्यात गरेको भन्सारको तथ्याङ्कमा देखिएकाले गैरसरकारी संस्था तिलगंगा आखाँ अस्पतालको नाममा व्यवसायिक गतिविधिसमेत भएको देखिन्छ । जेनजी विद्रोहपछि डा. रुइतको समूह विवादमा तानिएको थियो । यद्यपि पत्रकारसम्मेलन गरेर आफ्नो कुनै संलग्न नभएको प्रष्टिकरण दिए ।
जेनजी आन्दोलनपछि विवादमा तानिएको बारबारा फाउन्डेसनको लगभग सबै टिम तिलगंगा आँखा अस्पतालको नेतृत्वमा छ भने तिलगंगा आँखा अस्पतालको सबैजसो टिम बारबारा फाउन्सेनको नेतृत्वमा छ । तिलंगा आँखा अस्पताल गैरसकारी संस्था हो । उजुरीकर्ताहरूले भने तिलगंगा अस्पतालको नाममा भित्रिाभित्रै ठुलो व्यवसायिक सञ्जाल तयार गरिएको र आर्थिक अपचलन भएको दाबी गरेका छन् ।
संस्थाले समाज कल्पाण परिषद्बाट थोरै कार्यक्रमको स्वीकृति लिएर धेरै गतिविधि गरेको आरोप समेत लागेको छ ।


प्रतिक्रिया दिनुहोस्