मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग कांग्रेस सांसद केसीको माग


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले मुलुकको संकटपूर्ण अवस्थालाई नाफा कमाउने अवसरका रूपमा प्रयोग गर्दै कालोबजारी भइरहेको आरोप लगाए। उनका अनुसार पछिल्लो समय चामलको मूल्य प्रतिबोरा २ हजार ७ सय रुपैयाँ, सूर्यमुखी तेल ३ सय, तोरीको तेल ४ सय ४० र खसीको मासु प्रतिकिलो १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ।

अण्डा प्रतिगोटा २५ रुपैयाँ पुगेको तथा सागपात र फलफूलसमेत सर्वसाधारणको पहुँचबाहिर गएको उनले बताए। चार महिनाको अवधिमा मूल्यवृद्धि ४ दशमलव ५६ प्रतिशत पुगेको उल्लेख गर्दै उनले बजार अनुगमन र आपूर्ति व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताए।

केसीले काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार ग्यास सिलिण्डर माग रहे पनि आपूर्ति आधाभन्दा कम रहेको दाबी गरे। ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको तर कालोबजारमा प्रतिसिलिण्डर २ हजार ६ सय रुपैयाँसम्ममा सहजै उपलब्ध हुने गरेको उनले बताए।

उनले अस्वाभाविक मूल्यवृद्धि र ग्यास अभावले राज्यको उपस्थितिमाथि नै गम्भीर प्रश्न उठाएको भन्दै तत्काल बजार अनुगमन र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।