नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड


बेलायत । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) को आयोजनामा बेलायतमा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न भएको छ।

लन्डनको र्‍याडिसन ब्लु होटल, लन्डन हिथ्रोमा आयोजित रोडशोमा नेपालको प्रविधि क्षमता, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय बजारमा विस्तारको सम्भावना प्रस्तुत गरिएको थियो।

अन्तर्राष्ट्रिय बजारसँग नेपाली प्रविधि उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा नेपालका प्रविधि कम्पनीहरूले साइबर सुरक्षा, आईटी सेवा तथा बीपीओ, वेब तथा एप्लिकेसन विकास, क्लाउड, डेटा इन्जिनियरिङ, उत्पादन तथा प्रविधि विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्रमा गरिरहेको काम र क्षमताबारे जानकारी दिएका थिए।

कार्यक्रममा नास आईटीका उपाध्यक्ष विभूषण बिष्टले नेपालको आईसिटी इकोसिस्टम, दक्ष जनशक्ति तथा नेपाली प्रविधि कम्पनीहरूको क्षमता र अन्तर्राष्ट्रिय बजारमा सेवा तथा समाधान उपलब्ध गराउने सम्भावनाबारे प्रस्तुति दिएका थिए।

त्यसैगरी नेपाल र बेलायतबिच प्रविधि, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी, ब्रिटिस दूतावास काठमाडौंका व्यापार तथा लगानी प्रमुख अनुप श्रेष्ठ तथा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष विराज भट्टले आफ्नो धारणा राखेका थिए।

सो कार्यक्रममा नेपाली प्रविधि कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा हासिल गरेको अनुभवसमेत साझा गरिएको थियो।

जसमा, बेलायतमा मुख्य कार्यालय रहेको जेनेस सोलुसनका सिइओ अञ्जनी फुयाँलले क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, एआई तथा डिजिटल रूपान्तरणका क्षेत्रमा कम्पनीको अन्तर्राष्ट्रिय अनुभव साझा गरेका थिए।

यस्तै, सिम्प्लिफाइड सोलुसनका सीटीओ सुरज ज्ञवालीले पेमेन्ट, फिनटेक, साइबर सुरक्षा, क्लाउड आधुनिकीकरण तथा डिजिटल रूपान्तरणका क्षेत्रमा अन्तर्राष्ट्रिय बजारमा काम गर्दाको अनुभव प्रस्तुत गरेका थिए।

इन्ग्रेल्सका सहसंस्थापक निर्देश द्वाले उत्पादन तथा प्रविधि विकास र स्केलेबल समाधानमा नेपालको क्षमताबारे प्रस्तुति दिएका थिए भने एकबानाका एआई विभाग प्रमुख डा. भगवान ओझाले एआई, डेटा, अनुसन्धान तथा इन्टरप्राइज सफ्टवेयर इन्जिनियरिङका विषयमा प्रस्तुति दिएका थिए।

त्यसैगरी, नेपाल इन बिजनेसका टिम लिड रातिस बस्न्यातले निजी क्षेत्रको विकास, व्यापार, लगानी, नीतिगत सुधार र अन्तर्राष्ट्रिय बजारमा पहुँचका अवसरबारे प्रस्तुति दिएका थिए।

रोडशोमार्फत नेपालले प्रविधि सेवा र समाधानको बजारका रूपमा मात्र नभई अन्तर्राष्ट्रिय बजारका लागि प्रविधि विकास, सेवा र दक्ष जनशक्ति उपलब्ध गराउन सक्ने मुलुकका रूपमा आफ्नो क्षमता प्रस्तुत गरेको नास आईटीले जनाएको छ।

नेपाल इन बिजनेस, दाइ ग्लाेबल युके सहयोगी साझेदार रहेको कार्यक्रममा नेपालका १७ प्रविधि कम्पनी सहभागी भएका थिए।

ती कम्पनीहरूमा आकाश टेक, एआईटीसी इन्टरनेसनल, कोड पिक्सेल्ज मिडिया, कोडिङ माउन्टेन, डट्स एन्ड ड्यासेस टेक्नोलोजी सर्भिसेज, एकबाना सोलुसन्स, एमिनेन्स वेज, फोकस, जेनेस सोलुसन, इन्ग्रेल्स, जेस्पर आईटी, मन्त्र आइडियाज्, प्रोशोर नेपाल, टेकक्राफ्ट, टेकन टेक्नोलोजिज, वेब एक्सपर्ट्स नेपाल र योङ इन्नोभेसन्स रहेका छन् ।